spot_img

अमेरिकामा नेपाली फिल्म अवार्ड

काठमाडौं- सन् २०१६ मा अमेरिकाको कोलोराडोमा भएको पहिलो संस्करणको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ को दोस्रो संस्करण पनि कोलोराडोमा नै हुने भएको छ। आगामी अगस्त १९ मा आयोजना हुन लागेको अवार्डका लागि आयोजकले तयारी सुरु गरिसकेका छन्।

नेपालस्थित नेपाल फिल्म सोसाइटी र अमेरिकामा रहेको ग्लोबल नेपाल फिल्म अवार्ड अमेरिकाले संयुक्त रूपमा आयोजना गर्न लागेको अवार्डमा २० विधामा कलाकार तथा प्राविधिकलाई अवार्ड प्रदान गरिनेछ। ‘अघिल्लो वर्ष हामीले १२ विधामा अवार्ड प्रदान गरेका थियौं, यसपटक आठवटा नयाँ विधा थपेका छौं,’ अवार्ड संयोजक शैलेश पोखरेलले राजधानीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘नेपाली फिल्मलाई अमेरिकासहित अन्य मुलुकमा प्रदर्शनको गन्तव्य थलो बनाउन, फिल्म पर्यटनको विकास गराउँदै नेपाल पनि सुटिङका लागि राम्रो गन्तव्य हो भन्ने सन्देश दिन अवार्ड आयोजना गर्न लागेका हौं।’ उनका अनुसार यस वर्ष अवार्डमा एक भुटानी समुदायको कलाकार पनि छनोट गरिनेछ।

पहिलो संस्करणमा सम्मानित भएका अभिनेता सुनिल थापाले ओस्कारमा अवार्ड पाउने लक्ष्यप्राप्तिका लागि ग्लोबल फिल्म अवार्ड एउटा आधार बनेको बताए। अभिनेत्री बसुन्धरा भुसालले ५० वर्षको उमेरपछि अमेरिकामा सम्मानस्वरुप नेपाली फिल्मको अवार्ड पाएकोमा गर्व लागेको बताइन्।

ग्लोबल फिल्म अवार्डका अध्यक्ष नवराज श्रेष्ठले सन् २०१८ को संस्करण अष्ट्रेलियामा आयोजना गर्ने जानकारी दिए। उनले अवार्डमा सहभागी हुन चाहने पत्रकार तथा कलाकारलाई आफ्नै खर्चमा अमेरिका बोलाए। अघिल्लो संस्करणमा अमेरिका जानका लागि भिसा प्रक्रियामा आएको समस्या स्मरण गर्दै उनले यस पटक अमेरिकामा रहेको नेपाली दूतावास र नेपालस्थित परराष्ट्र मन्त्रालयबाट पहल गर्ने आश्वासन दिए।

फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले अघिल्लो संस्करणभन्दा यस पटकको संस्करणलाई अझ परिस्कृत रूपमा लैजाने बताए। अवार्ड प्रायोजक खुम्बु खोल्च उत्पादक शेर्पा ब्रेवरीका अध्यक्ष लाक्पा शेर्पाले फिल्मको अवार्डका लागि सहकार्य गर्न पाउँदा खुसी लागेको जनाए।

spot_img

भर्खरै