पर्वत। कुश्मा नगरपालिकाले कुश्मा नगरपालिका–४ मा रहेको गुप्तेश्वर संस्कृत पाठशालालाई तातो तथा चिसो पानी उपलब्ध गराउने वाटर प्युरिफायर मेसिन सहयोग गरेको छ।
पाठशालामा अध्ययनरत विद्यार्थीलाई शुद्ध पिउने पानीको व्यवस्था गर्न कठिनाइ भएपछि नगरपालिकाले उक्त मेसिन उपलब्ध गराएको हो। शनिबार पाठशालामा आयोजित कार्यक्रममा कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीले मेसिन हस्तान्तरण गर्नुभएको हो।
मेसिन हस्तान्तरण गर्दै नगर प्रमुख जोशीले विद्यार्थीको स्वास्थ्य र सुविधालाई ध्यानमा राखेर नगरपालिकाले सहयोग गरेको बताउनुभयो। उहाँले गत वर्ष पनि पाठशालामा अध्ययनरत विद्यार्थीको सहजताका लागि नगरपालिकाले वासिङ मेसिन उपलब्ध गराएको जानकारी दिनुभयो।
तर, गत वर्ष प्रदान गरिएको वासिङ मेसिन अझै प्रयोगमा नआएको भन्दै नगर प्रमुख जोशीले उपलब्ध गराइएका सामग्रीलाई उपयोगमा ल्याउन पाठशाला प्रशासनलाई आग्रह गर्नुभयो। उहाँले विद्यार्थीको हितका लागि प्रदान गरिएका सामग्रीको प्रभावकारी प्रयोग हुनुपर्नेमा जोड दिनुभयो। पाठशालामा अहिले १७ जना बिद्यार्थी अध्ययनरत छन् ।
गुप्तेश्वर संस्कृत पाठशालालाई कुश्मा नगरपालिकाद्वारा वाटर प्युरिफायर सहयोग


