spot_img

कालीगण्डकीले जलजलामा पाँच घर बगायो, सेतीबणीबजार डुबानमा

पर्वत, निरन्तरको वर्षासँगै कालीगण्डकी नदीमा आएको बाढीका कारण पर्वतको जलजला गाउँपालिका–८ लस्तीक्षेत्रका पाँच घर बगाएको छ । नदी किनारका अन्य घरहरुसमेत कटान गर्दै लैजाने जोखिममा परेका छन् । जलजला वडा नम्बर ८ का वडा अध्यक्ष हरिविकास जिसीकाअनुसार हालसम्म कालीगण्डकी नदीले पाँच घर पूर्ण रुपमा बगाएको छ । उनकाअनुसार त्यहाँ रहेका झण्डै सय बढी घरहरु जोखिममा परेका छन् ।
‘अहिलेसम्म पाँच वटा घर बगाइसकेको छ, यस्तै निरन्तर बर्षा भएर नदी बढ्दै जाँदा सयबढी घर जोखिममा परेका छन्’ वडा अध्यक्ष जिसीले भने । जिसीका अनुसार नदीको पानीको बहावले बस्तीको पछाडिपट्टिको भागमा तीव्र कटान गरिरहेको छ । पानीको बहाव केही घण्टा मात्रै नरोकिए घरहरु सहित शिव माध्यमिक विद्यालयसमेत बग्ने जोखिममा रहेको उनले जानकारी दिए ।
जोखिममा रहेका घरपरिवारहरू सुरक्षित स्थानमा बसिरहेका छन् । थप मानवीय तथा भौतिक क्षति हुन नदिन सम्बन्धित निकायले तत्काल उद्धार, सुरक्षित स्थानान्तरण तथा नदी नियन्त्रणका लागि आवश्यक पहल गर्नुपर्ने अवस्था देखिएको छ । त्यसैगरी कालीगण्डकी नदीको बहाब बढ्दै जाँदा कुश्मा १ सहस्रधारामा रहेको कालीगण्डकी क्रसर उद्योगका संरचना बगाउन थालेको छ । रातीदेखि निरन्तर रुपमा क्रसरका संरचना बगाउन थालेको संचालक यामबहादुर मल्लले जानकारी दिए ।
उता कालीगण्डकी र सेतीखोलाको बढाबले पर्वत र स्याङ्जाको संगमस्थलमा रहेको सेतीबेणीबजार डुबानमा परेको छ । त्यहाँका केही घरहरु बगाएको त्यहाँबाट पदम रानाले जानकारी दिएका छन् । जलजला गाउँपालिका वडा नम्बर ३ वारीबेनीस्थिात बजारक्षेत्रका घरहरुमा समेत कालीगण्डकी नदीको बहाब पस्न सुरु गरेको छ । जलजला गाउँपालिकाको कार्यालय रहेको लामाखेतका घरहरुमा समेत कालीगण्डकी नदी पस्न सुरु गरेको छ ।

spot_img

भर्खरै