पर्वत । नियमित महाधिवेशन पक्षधर नेपाली काँग्रेस पर्वतको सभापतिमा यामबहादुर मल्ल (रामकृष्ण) निर्विरोध निर्वाचित हुनुभएको छ । कुश्मामा सम्पन्न १५ औ जिल्ला तथा प्रदेशसभा क्षेत्रीय अधिवेशनवाट जिल्ला सभापतिमा मल्ल निर्विरोध निर्वाचित हुनुभएको हो । यसैगरी उपसभापतिमा कृष्ण गौडेल र लक्ष्मीकुमारी मेघासी प्रसाई, सचिबमा पानबहादुर हाल सन्तोष सहसचिबमा भिमबहादुर अधिकारी रहनुभएको छ ।
त्यसैगरी कोषाध्यक्ष र सदस्य सहित २७ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको हो । यसैगरी महाधिवेशन प्रतिनिधि र प्रदेश महाधिवेशन प्रतिनिधिको केहि दिनमा टुंगो लाग्ने सभापति मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार आकांक्षीहरुको संख्या धेरै भएकाले सहमतिमै टुंगो लगाउने तयारी भैरहेको छ ।
यसैगरी क्षेत्र क को सभापतिमा याम शर्मा पौडेल तथा क्षेत्र ख को सभापतिमा गुप्तप्रताप सेन सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।
सभापतिमा निर्वाचित मल्लले नेपाली काँग्रेसलाई विधानसम्मत अघि बढाउनका लागि नियमित महाधिवेशन आवश्यक रहेको बताउँदै सोहि अनुसार जिल्लामा अधिवेशन गरी सर्वसम्मत नेतृत्व चयन गरिएको बताउनुभयो । उहाँले आफु १४ अाै महाधिवेशनमा झिनो मतले पराजित भएको बताउँदै पार्टीको हितका लागि अहिले नेतृत्व सम्हाल्नुपर्ने अवस्था आएको बताउनुभयो । मल्लले अहिले पार्टीभित्रको आन्तरिक समस्याका कारण दुई खेमामा विभाजित हुनुपरे पनि अदालतको फैसलापछि एकढिक्का भएर अघि बढ्ने विश्वास गर्नुभएको छ ।
१४औं महाधिवेशनवाट निर्वाचित सभापतिलेनै १५ औ महाधिवेशन गर्ने परिपार्टीलाई उल्लंघन गर्दै नयाँ समुहले विशेष र जिल्ला, प्रदेश टुंगो नलगाई महाधिवेशनको नाटक मञ्चन गरेको भन्दै यसलाई सर्वोच्च अदालत र निर्वाचन आयोगले समेत अयोग्य ठहराउने उहाँको भनाई छ । उहाँले विधिसम्मत निर्वाचित भएको सभापतिलाई नै सर्वोच्चले आधिकारीकता दिने बताउँदै सवै काँग्रेसीहरु यतै आएर गोलबन्द हुन समेत आव्हान गर्नुभएको छ।
मल्लले ६१ वटै वडा र सातवटै पालिकामा सर्वसम्मत अधिवेशन सकिएको बताउँदै जिल्ला, क्षेत्रमा अपुर्ण सदस्यहरु तत्काल मनोनित गरिनुका साथै महाधिवेशन प्रतिनिधिको टुंगो समेत छिटै लगाईने दावी गर्नुभयो ।


