spot_img

कुश्मामा एक्सरेमार्फत क्षयरोग खोजपडताल शिविर सञ्चालन

पर्वत । कुश्मा नगरपालिकाले ज्येष्ठ नागरिकमा देखिने छातीरोगसम्बन्धी समस्या पहिचान तथा उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले एक्सरेमार्फत क्षयरोगसम्बन्धी खोजपडताल शिविर सञ्चालन गरेको छ। ज्येष्ठ नागरिकमा छातीरोगको समस्या बढी देखिने भएकाले उनीहरूको स्वास्थ्य अवस्थाको पहिचान र समयमै उपचारको व्यवस्था मिलाउन शिविर आयोजना गरिएको हो।
कुश्मा बहुमुखी क्याम्पस, कुश्मा–६ मा मंगलबार आयोजित शिविरको उद्घाटन कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीले गर्नुभयो। कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख जोशीले ज्येष्ठ नागरिकहरूमा सबैभन्दा बढी देखिने स्वास्थ्य समस्यामध्ये छातीरोग पनि एक भएको बताउनुभयो। उहाँले ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै नगरपालिकाले क्षयरोगसम्बन्धी खोजपडताल कार्यक्रम आयोजना गरेको जानकारी दिनुभयो।
उहाँले रोग लागेपछि उपचार गर्नुभन्दा रोगको समयमै पहिचान गरी उपचार प्रक्रिया अगाडि बढाउनु प्रभावकारी हुने बताउँदै यस्ता स्वास्थ्य शिविरले नागरिकलाई प्रत्यक्ष लाभ पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। विशेषगरी ज्येष्ठ नागरिकमा देखिने छाती तथा श्वासप्रश्वाससम्बन्धी समस्याको पहिचानका लागि यस्ता कार्यक्रम उपयोगी हुने उहाँको भनाइ थियो।
कार्यक्रमको अध्यक्षता कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरण पौडेलले गर्नुभएको थियो। उहाले पनि राेग लाग्नुभन्दा पहिला समय समयमा स्वास्थ्य परिक्षण गर्नुपर्नेमा जाेड दिदै अागामी दिनमा १४ वटै वडामा पुग्नेगरि यस्ता शिविर तथा कार्यक्रम सञ्चालन गरिने पनि जानकारी गराउनुभएकाे थियोे । क्षयरोग समयमै पहिचान हुन नसक्दा बिरामीको स्वास्थ्यमा थप जटिलता आउन सक्ने भएकाले शंकास्पद लक्षण देखिएका व्यक्तिले स्वास्थ्य परीक्षण गराउनुपर्नेमा प्रमुख प्रशासकिय अधिकृत पाैडेलले जाेड दिनुभएको थियो।  शिविरका उद्देश्य, सेवा प्रवाह तथा क्षयरोग खोजपडतालका क्रममा अपनाइने प्रक्रियाका बारेमा प्रादेशिक रोग नियन्त्रण केन्द्र गण्डकी प्रदेशबाट आउनुभएका शिविरका टोली नेता सन्तोष पौडेलले जानकारी गराउनुभएको थियो। कार्यक्रमकाे सञ्चालन गर्दै कुश्मा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख यामप्रसाद शर्माले शिविरमा बढिभन्दा बढि सहभागी भई स्वास्थ्य परिक्षण गराउन अाग्रह गर्नुभएकाे थियाे । उहाले कार्यक्रममा स्वास्थ्य परीक्षणको महत्व, क्षयरोगको पहिचान तथा रोग नियन्त्रणका लागि अपनाउनुपर्ने सावधानीका विषयमा समेत जानकारी गराउनुभएको थियो।
कुश्मा नगरपालिकाको आयोजनामा तथा प्रादेशिक रोग नियन्त्रण केन्द्र गण्डकी प्रदेश, पोखरा र प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको समन्वयमा शिविर सञ्चालन गरिएको हो।
शिविर मंगलबार साँझ ५ बजेसम्म कुश्मा बहुमुखी क्याम्पसमा सञ्चालन हुने कार्यक्रम रहेको छ। एक्सरे प्रविधिको प्रयोगबाट क्षयरोगको सम्भावित संक्रमण पहिचान गर्ने र आवश्यक परे थप परीक्षण तथा उपचारका लागि बिरामीलाई स्वास्थ्य संस्थासम्म पुग्न सहजीकरण गर्ने उद्देश्यले शिविर आयोजना गरिएको नगरपालिकाले जनाएको छ।
क्षयरोगको समयमै पहिचान, उपचार र नियन्त्रणमा स्थानीय तहको सक्रियता आवश्यक हुने भएकाले सबै पालिकाले नागरिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर यस्ता कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने देखिन्छ ।

spot_img

भर्खरै