काठमाडौं : नेकपा एमालेको स्थायी कमिटीको बैठक आज पनि बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने छ। बिहीबार सुरु भएको बैठकले पार्टीको संगठन सुदृढीकरणसँगै आगामी राष्ट्रिय भेला, वडा तथा पालिका अधिवेशन र रिक्त जिल्ला अध्यक्ष पदपूर्तिसहितका महत्वपूर्ण निर्णय गरेको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले विभिन्न चार एजेन्डामाथि छलफल गरेको थियो।
बैठकले मङ्सिर पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए। भेलामा प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्ष र विभिन्न तहका जनप्रतिनिधिहरूको सहभागिता रहनेछ। स्थानीय तहका अधिवेशन सम्पन्न भएपछि प्रदेशस्तरीय भेला आयोजना गर्ने निर्णयसमेत बैठकले गरेको छ।
त्यस्तै, एमालेले मङ्सिर २६ गते वडा कमिटी र पुस ४ गते पालिका तहका कमिटीको अधिवेशन गर्ने निर्णय गरेको छ। पार्टीको संगठनलाई स्थानीय तहसम्म थप व्यवस्थित र सक्रिय बनाउने उद्देश्यले अधिवेशनको मिति तय गरिएको हो बैठकले अध्यक्ष पद रिक्त रहेका १३ जिल्लामा जिल्ला कमिटीबाटै अध्यक्ष चयन गरी माथिल्लो कमिटीमा अनुमोदनका लागि पठाउने निर्णय गरेको छ। जिल्ला तहमा नेतृत्व रिक्त हुँदा संगठनात्मक काम प्रभावित नहोस् भन्ने उद्देश्यले स्थानीय कमिटीबाटै अध्यक्ष चयन गर्ने व्यवस्था गरिएको हो।
यसैगरी, मधेस प्रदेशसभाको समानुपातिकतर्फ रौतहटबाट निर्वाचित एमालेकी सांसद जैनब खातुनको निधनपछि रिक्त स्थानमा बन्दसूचीमा रहेकी नाजमा खातुनलाई मनोनयन गरी निर्वाचन आयोगमा लेखी पठाउने निर्णय बैठकले गरेको छ। नाजमा बन्दसूचीको सम्बन्धित क्रमअनुसार रहेकी उम्मेदवार हुन्।
स्थायी कमिटी बैठकमा केन्द्रीय कमिटीबाट निर्णय हुन बाँकी केही विषयमा समेत छलफल भएको छ। तीमध्ये केही विषयमा थप छलफल आवश्यक रहेकाले बैठकलाई शुक्रबार पुनः बस्ने गरी स्थगित गरिएको उपमहासचिव भट्टले जानकारी दिए। यसरी एमालेको नयाँ स्थायी कमिटीले पहिलो बैठकबाटै संगठन पुनर्संरचना, स्थानीय तहका अधिवेशन, राष्ट्रिय तथा प्रदेशस्तरीय भेला, रिक्त जिल्ला नेतृत्व पूर्ति र समानुपातिक सांसदको रिक्त पदपूर्तिलगायत विषयमा आगामी कार्यदिशा तय गरेको छ।


