spot_img

मुख स्वास्थ्यतर्फ सचेत बन्दै बालबालिका, प्रभावकारी बन्यो परियोजना

पर्वत/कुश्मा नगरपालिकाका छ वटा वडाका स्कुले बालबालिकाहरु मुख स्वास्थ्यतर्फ सचेत बन्दै गएको पाइएको छ । कुश्मा नगरपालिका वडा नम्बर १, २, ६, ९, १० र ११ का बिद्यालयका बालबालिकाहरुले मुखको स्वास्थ्यप्रति निकै सचेत भएको पाइएको हो । बालबालिकाहरुले दैनिक रुपमा दाँत माझ्ने, मुखको सरसफाईमा ध्यान दिदै गएपछि पछिल्लो समय त्यसक्षेत्रका बालबालिकाको दाँतको समस्यासमेतमा कमी आएको छ ।
कुश्मा नगरपालिकाको सहकार्यमा जिभाय नेपालले सञ्चालन गर्दै आएको मुख स्वास्थ्य परियोजना प्रभावकारी बनेको हो । परियोजनाले विगतमा गरेको गतिविधि तथा प्रगतिको विषयमा एक कार्यक्रमकाबिच बिहिबार समिक्षा गरिएको छ । साथै चालु आर्थिक बर्षमा हुने कार्यक्रमका विषयमा छलफलसमेत सम्पन्न भएको छ । कुश्मा नगरपालिकाको सहकार्यमा जिभाय नेपालले जिभाय फाउण्डेसनको सहयोगमा परियोजना सञ्चालन गरेपछि अहिले कहिल्यै दाँत नमाझ्नेहरु नियमित दाँत माझ्न थालेका छन् । कार्यक्रम लागु भएका छ वटा वडामा राम्रो उपलब्धीपछि नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले सबै वडामा कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् ।
कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले मुख स्वास्थ्य परियोजना अत्यन्त महत्वपूर्ण रहेकोले आफुहरुको कार्यकाल सकिएपछि पनि यो कार्यक्रमलाई नियमित रुपमा सञ्चालन हुने बाताबरण बनाउनुपर्ने बताउनुभयो । नगरपालिकाका छ वटा वडा मात्रै नभएर १४ वटै वडामा कार्यक्रम लागु गर्न नगरभित्रको स्रोतसाधनमा अभाव हुन नदिने प्रतिबद्धता राख्दै नगर प्रमुख जोशीले यसलाई नयाँ जनप्रतिनिधि आउदापनि निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
कुश्माका छ वटा वडा मात्र नभएर १४ वटै वडाले लाभान्वित हुने गरी परियोजना सञ्चालन गर्नका लागि नगरपालिकाले थप सहकार्य गर्न तयार रहेको जोशीले प्रष्ट पार्नुभयो । सही रुपमा मुखको स्वास्थ्यमा ध्यान नदिदा नै हरेक प्रकारका रोगहरु हाम्रो शरिरमा देखा पर्ने भएकोले पनि नगरपालिका मुख स्वास्थ्य परियोजना स्वीकार गरेर अगाडी बढेकोे धारणा जोशीले राख्नुभयो ।
कुश्मा नगरपालिकाका नगर उपप्रमुख स्वस्थानी रिजालले मानव जिवनमा मुख स्वास्थ्य अत्यन्तै महत्वपूर्ण भएकोले मुखको स्वास्थ्यमा ध्यान दिनुपर्ने बताउनुभयो । मुखबाट नै धेरै प्रकारका रोग लाग्ने भएकोले रोग लाग्नै नदिनका लागि मुखको स्वास्थ्य महत्वपूर्ण रहेको रिजालको भनाई थियो ।
कार्यक्रममा मुख स्वास्थ्य परियोजनाका कार्यक्रम संयोजक श्रीधर आचार्यले गत आर्थिक बर्षको प्रगति र आगामी बर्षको कार्यक्रमको बारेमा जानकारी गराउनुभएको थियो । उहाँका अनुसार गतआर्थिक बर्षमा कुश्माका छ वटा वडामा दन्त परिक्षण तथा उपचारमा दुई हजार तीन सय १३ बालबालिकाले सेवा लिएका थिए । त्यसैगरी बिद्यालय दिवा ब्रसिङ कार्यक्रममा ३६ बिद्यालयका एक हजार पाँच सय तीन जना बालबालिका सहभागी भएको पनि आचार्यले जानकारी दिनुभयो । साप्ताहिक दन्त क्लिनिक तीन ठाउँमा गरी ९६ वटा सञ्चालन भएको थियो । त्यसमा बिद्यालय र समुदायमा गरी पाँच सय २१ जनाले सेवा लिएका थिए ।
परियोजनाका निर्देशक सरस्वती पुरीका अनुसार साप्ताहिक दन्त क्लिनिक, विद्यालय मुस्कान कार्यक्रम, विद्यालय स्क्रीनिङ तथा सचेतना कार्यक्रम र समुदाय स्क्रीनिङ तथा सचेतना कार्यक्रम गरी चार चरणमा कार्यक्रम हुँदै आएको छ । कार्यक्रम लागु भएका वडाका विद्यालयका सबै बालबालिका लक्षित गरेर परियोजना सञ्चालन हुँदै आएको पनि निर्देशक पुरीले जानकारी दिनुभयो ।
विद्यालयका बालबालिका र समुदायस्तरमा समेत मुखको सरसफाई नभएकै कारण धेरै प्रकारका रोग भित्रिने भन्ने कुरामा ध्यान नदिदा समस्या आएको भन्दै पुरीले मुख स्वास्थ्य सेवा अभिबृद्धि र समग्र सुधार गर्ने नै परियोजनाको प्रमुख लक्ष्य रहेको बताउनुभयो । यो कार्यक्रम कुश्माका छ वटा वडामा सन् २०२७ सम्म सञ्चालन हुनेछ । कार्यक्रममा कुश्मा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख यामप्रसाद शर्माले कार्यक्रम निकै सान्दर्भिक भएकोले यसलाई नियमित गराउन पाए निकै प्रभावकारी हुने बताउनुभएको थियो ।
कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीको अध्यक्षतामा भएको कार्यक्रममा निमित्त प्रमुख प्रशासकिय अधिकृत बिष्णुप्रसाद तिवारी, कुश्मा नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर २ का अध्यक्ष लालकृष्ण बास्तोला, कुश्मा नगरपालिका सामाजिक समितिका संयोजक एवम् वडा नम्बर ६ का अध्यक्ष इश्वर गिरी, वडा नम्बर १ का अध्यक्ष खगराज पौडेल, वडा नम्बर १० का अध्यक्ष रामचन्द्र सुबेदी, वडा नम्बर ११ का अध्यक्ष बाबुराम पौडेल, नगरपालिकाका विभिन्न शाखाका कर्मचारी, पत्रकारलगायतको उपस्थिति रहेको थियो । पर्वतसहित बागलुङ, कास्की र लमजुङमा गरी चार वटा जिल्लामा जिभाय नेपालले मुख स्वास्थ्य परियोजना सञ्चालन गर्दै आएको छ ।

spot_img

भर्खरै