काठमाडौँ : रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधवार रातिसम्म १ हजार ३७२ जनाको शव फेला परेको छ। प्रहरी मुख्यालयका अनुसार रसुवामा १ सय ७८ जना, नुवाकोटमा १ सय ९७ जना, धादिङमा ७० जना, चितवनमा ३ सय ६३ जना, गोरखामा ७७ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय २७ जना र नवलपरासी पश्चिम २ सय २२ जना गरी १ हजार ३७२ जनाको शव फेला परेको हो।
फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलनदेखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार १ सय ४८ वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ। शव पहिचानका लागि मृतकका १ हजार २ सय ८६ र आफन्तका १ हजार ६ सय १६ गरी कुल २ हजार ९ सय २ वटा डिएनए नमुना सङ्कलन गरिएको छ। साथै पहिचान नभएको १ हजार २ सय ९५ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय ७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ। विपद् प्राधिकरणका अनुसार हालसम्म ५ हजार १३२ जना वेपत्ता भएका र उनीहरूको खोजी कार्य भइरहेको छ। यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा ३ हजार ३० जना व्यक्तिहरूलाई राखिएको छ।


