सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह (वालेन)ज्यूले काठमाडौंँ देखि मुस्ताङ सम्म सडक यात्रा गर्नु भएको विषयलाई केवल एउटा यात्राका रूपमा मात्र हेर्नु हुँदैन। यो यात्रा प्रधानमन्त्री को यात्रा भन्दा पनि देशको वास्तविक अवस्था नजिक बाट बुझ्ने एउटा अवसर र सरकार का लागि एउटा ऐना बन्न सक्छ।
हवाईजहाज बाट केही घण्टामै पुगिने ठाउँमा सडक बाट यात्रा गर्दा बाटोका खाल्डा खुल्डी, पहिरो, धुलो, जाम, जोखिमपूर्ण मोड, जीर्ण पुल, निर्माण को सुस्त गति र यात्रुले भोग्नुपरेका कठिनाइ प्रत्यक्ष देखिन्छन्। कार्यालयका प्रतिवेदनमा “सडक राम्रो छ”, “निर्माण भइरहेको छ”, “काम सन्तोषजनक छ” भन्ने लेखिन सक्छ; तर सडकमा हिँड्दा कागजको विकास र नागरिकले अनुभूति गर्ने विकास बीचको फरक थाहा हुन्छ।
त्यसैले प्रधानमन्त्रीको यो यात्राले नागरिकलाई पनि एउटा प्रश्न सोध्न बाध्य बनाएको छ—हामीले सरकारसँग विकासको कस्तो अपेक्षा गरेका छौँ?
सरकारले पनि सोच्नुपर्ने कुरा यही हो कि विकास भनेको केवल बजेट विनियोजन, शिलान्यास र उद्घाटन होइन। विकास भनेको नागरिकले घरबाट निस्कँदा सुरक्षित सडक पाउनु हो, बिरामी पर्दा समयमा अस्पताल पुग्नु हो, विद्यार्थीले सहज रूपमा विद्यालय पुग्नु हो, किसानले आफ्नो उत्पादन बजारसम्म पुर्याउन सक्नु हो र पर्यटकले देशका सुन्दर गन्तव्यसम्म सुरक्षित यात्रा गर्न सक्नु हो।
काठमाडौंँ देखि मुस्ताङसम्म को यात्रा एउटा उदाहरण मात्र हो। देशका हजारौँ गाउँ बस्तीमा आज पनि नागरिक ले यस्तै समस्या भोगिरहेका छन्। कतै सडक बनेर पनि नियमित यातायात चल्दैन, कतै सडक बनेको केही महिना मै भत्किन्छ, कतै पुल वर्षौँदेखि अधुरो छ। कतै बजेट छ तर काम छैन, कतै आवश्यकता छ तर बजेट छैन। अब सरकारले “कहाँ कति बजेट खर्च भयो?” भन्दा “त्यसबाट नागरिकले के पाए?” भन्ने प्रश्नलाई प्राथमिकता दिनुपर्ने बेला आएको छ।
प्रधानमन्त्रीज्यूको यो सडक यात्रा ले अर्को महत्वपूर्ण सन्देश पनि दिन्छ—शासन सिंहदरबारको झ्यालबाट मात्र देखिँदैन, जनताको बाटोमा पुगेर देखिन्छ। प्रधानमन्त्री, मन्त्री, सचिव र सम्बन्धित अधिकारीहरू समय–समयमा देशका वास्तविक भूगोलमा पुगेर नागरिकको समस्या प्रत्यक्ष सुन्ने र हेर्ने संस्कार विकास गर्न सके सरकारका नीति तथा योजना अझ व्यवहारिक बन्न सक्छन्।
अब नागरिकले पनि यात्रा को फोटो र सामाजिक सञ्जाल को चर्चा मात्र होइन, त्यस यात्राले सरकार लाई के सिकायो भनेर हेर्नुपर्छ। मुस्ताङ पुगेर फर्किनु महत्वपूर्ण होइन; मुस्ताङ पुग्दा देखिएका समस्या काठमाडौं फर्किए पछि समाधान गर्ने इच्छाशक्ति देखाउनु अझ महत्वपूर्ण हो।
काठमाडौंँ देखि मुस्ताङसम्मको सडक यात्राले यही सरल तर गहिरो सन्देश दिएको छ—“देश बुझ्न नक्सा हेरेर मात्र पुग्दैन, देशका बाटामा हिँड्नुपर्छ; अनि बाटामा देखिएको पीडालाई नीति र बजेटमा उतार्न सक्नुपर्छ।”
प्रधानमन्त्रीज्यूको यो यात्रा त्यसैको सुरुवात बनोस्। नागरिकले पनि प्रश्न गरिरहून्, सरकार जवाफदेही बनिरहोस् र विकासको मापदण्ड कागजमा होइन—जनताको जीवनमा देखिने परिवर्तन बनोस्। (क्षेत्री नेपाल सरकारका उपसचिव हुनुहुन्छ )
प्रधानमन्त्रीकाे मुस्ताङ यात्रा


