spot_img

भारीको प्रेरणामा आर्मी विजयी

काठमाडौं, जेठ १५– सुशन भारीको उत्कृष्ट प्रदर्शनप्रेरित त्रिभुवन आर्मीले क्लबले आइतबार नेपाल पुलिस क्लबलाई ७ विकेटले हराउँदै समूह ‘बी’ को विजेताका हैसियतमा प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको अन्तिम चारमा स्थान बनाएको छ।

प्रतियोगितामा दश विकेट लिइसकेका सुशनले आइतबार १६ रन दिएर ६ विकेट लिएपछि नेपाल पुलिस क्लबले १५.५ ओभरमै सबै विकेट गुमाएर १ सय ९ रन मात्र जोड्न सकेेको थियो। सुशनलाई सोमपाल कामी र सागर पुनले समान २/२ विकेट लिएर साथ दिएका थिए। अघिल्लो खेलमा ६ विकेट लिएका जितेन्द्र मुखियाले भने आइतबार विकेट हात पार्न सकेनन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको त्रिभुवन आर्मीका सोमपाल कामीले पहिलो ओभरमै ओपनरद्वय सुनील धमला र अमित श्रेष्ठलाई शून्यमा पवेलियनको बाटो देखाएपछि नेपाल पुलिस दबाबमा परेको थियो। तर विकेटकिपर दिलीप नाथ र दीपेन्द्रसिंह ऐरीले तेस्रो विकेटका लागि ४८ रनको साझेदारी गर्दै टोलीलाई सम्मानजनक योगफलतर्फ डोर्‍याउने प्रयास गरेका थिए।

तर, २७ बलमा ४ चौकासहित २२ रन बनाएका दीपेन्द्रसिंहलाई सागर पुनले एलबिडब्लु आउट गरेपछि पुलिसले निरन्तर विकेट गुमायो। त्यसपछि आरिफ शेखले चौथो विकेटका लागि दिलीपसँग गरेको २५ रनको साझेदारी पुलिसका लागि दोस्रो ठूलो साझेदारी बन्यो। ४ रन बनाएका आरिफलाई पनि सागरले कप्तान विनोद भण्डारीमार्फत क्याच गराएका थिए।

त्यसपछि पुलिसको बाँकी सबै विकेट सुशनको नाममा रह्यो। १३औं ओभरमा आरिफ आउट हुँदा ७४–४ को अवस्थामा रहेको पुलिसले थप ३५ रन जोड्दा बाँकी ६ विकेट गुमायो। योगेन्द्रसिंह कार्की र कुशल भुर्तेललाई शून्य रनमा पवेलियन फर्काएका सुशनले ६ रन बनाएका पुलिसका कप्तान मञ्जित श्रेष्ठलाई नरेश बुढाऐरको हातबाट क्याच गराए। लगत्तै ७१ बलमा ५ चौकासहित ५० रन बनाएका दिलीपलाई सुशनले विनोदमार्फत क्याच गराए। प्रतियोगितामा १ सय २६ रन बनाइसकेका दिलीप धेरै रन बनाउने खेलाडीको सूचीमा शीर्ष स्थानमा छन्। ८२ रन बनाएका नेपाल पुलिसकै अमित श्रेष्ठ दोस्रो स्थानमा छन्। त्यसपछि सुशनले ३ रन जोडेका सुशील कँडेल र ललित भण्डारीलाई पवेलियनको बाटो देखाएका थिए।

सुशन भारीले विकेट लिएर टोलीको जितमा योगदान गर्न पाँउदा खुसी लागेको बताए। उनले थपे, ‘पक्कै पनि खुसी त लागिहाल्छ। मैले सही ठाउँमा बल फाल्ने प्रयास गरेको थिएँ। विकेट पनि मिल्यो। म एक्लैभन्दा पनि हाम्रो टोलीले संगठित प्रदर्शन गरिरहेको छ। आगामी खेलमा पनि यसले निरन्तरता पाउने आशा गरेका छौं।’

पुलिसका ललित भण्डारीले त्रिभुवन आर्मीका ओपनर अनिल मण्डल र सागर पुनलाई चाँडै आउट गरे। त्यसपछि युवा स्पिनर सुशील कँडेलले अर्का ओपनर महेश क्षत्रीलाई विकेटकिपर दिलीपमार्फत क्याच गराएपछि त्रिभुवन आर्मी दबाब परेको थियो। त्यसपछि ब्याटिङमा आएका विनोट भण्डारी पनि शून्यमा क्याच आउट भएका थिए। तर, ललितको बलमा विनोदले हानेको सट कभरमा रहेका अमित श्रेष्ठले क्याच छाडेका थिए। विनोदको क्याच छोड्नु पुलिसका लागि महँगो साबित भयो।

त्यसपछि विनोदले ५० बलमा ७ चौका र १ छक्का प्रहार गर्दै अविजित ४६ रनको योगदान गरे। विनोदले चौथो विकेटका लागि नरेश बुढाऐरसँग ७६ रनको अविजित साझेदारी गरेका थिए। ७४ बल खेलेका नरेशले ३ चौका र १ छक्का हान्दै ४१ रनमा अविजित रहे। नरेशले त्यसअघि महेश क्षत्रीसँग तेस्रो विकेटका लागि २० रनको साझेदारी गरेका थिए।

समूहचरणका तीनै खेलमा विजय हासिल गरेको आर्मी समूह ‘बी’ मा विजेता बन्दै सेमिफाइनल पक्का गर्दा पुलिसले उपविजेता बनेर अन्तिम चारको यात्रा तय गरेको छ। समूह ‘बी’ का सुदूर पश्चिम र पूर्वाञ्चल भने कुनै खेल नजिती घर फर्किएका छन्।

आर्मीका कप्तान विनोद भण्डारीले पनि जितको श्रेय बलरलाई दिए। ‘बिहान आउटफिल्ड अलि चिसो थियो। त्यसैले टस जित्यौं भने हामी दोस्रो ब्याटिङ गर्ने योजनामा थियौं,’ विनोदले थपे, ‘दोस्रो ब्याटिङ गर्दा सजिलो भयो। बलरले पनि राम्रो गरे।’

लामो समयपछि एकदिवसीय क्रिकेट प्रतियोगितामा अहिलेसम्म कुनै पनि ब्याट्सम्यानले ५० ओभर टिकेर खेल्न सकेका छैनन्। यसबीच खेलाडीले ट्वान्टी–२० स्वरूपका धेरै प्रतियोगिता खेले। त्यसैले तीन वर्षपछि भएको प्रतियोगितामा खेलाडीको मानसिकता एकदिवसीय नभई ट्वान्टी–२० खेल्दाको जस्तै भएको विनोदले स्विकार गरे।

‘हो। हामीले कतिपय अवस्थामा कुन स्वरूपको खेल खेल्दै छौं भनेर सोच्नुपर्छ। ट्वान्टी–२० सबै बल खेल्नुपर्ने दबाब हुन्छ। त्यसैले यो प्रतियोगतामा पनि केही बल डट खेल्यो भने खेलाडी निराश भएका छन्। त्यसैले सट खेल्न खोज्दा विकेट फालेको देखिन्छ।’

समूहचरणका तीनै खेलमा विजय हासिल गरेको आर्मी समूह ‘बी’ मा विजेता बन्दै सेमिफाइनल पक्का गर्दा पुलिसले उपविजेता बनेर अन्तिम चारको यात्रा तय गरेको छ।

spot_img

भर्खरै