spot_img

देउसीभैलीको पैसाले बास्केटबल मैदान निर्माण हुँदै

पर्वत/ पर्वत सदरमुकाम कुश्मामा पहिलो पटक अत्याधुनिक बास्केटबल मैदान निर्माण सुरु गरिएको छ । पर्वत जिल्ला बास्केटबल संघले कुश्मा नगरपालिका वडा नम्वर ५ स्थित बडागाउँमा बास्केटबलको अत्याधुनिक मैदान पुर्ननिर्माण गर्न लागेको हो ।
यसअघि जिर्ण अवस्थामा रहेको बास्केटबल मैदानलाई पुर्ननिर्माण गरी अत्याधुनिक बनाउन लागिएको हो । पर्वतको उत्तरी क्षेत्रको प्रायः मगरबस्तीहरुमा फाइबरबाृर्डसहित बास्केटबलको ढलान मैदान रहेपनि सदरमुकाममा भने यो खेलको राम्रो मैदान नहुँदा खेल नियमित हुन सकेको थिएन ।
पर्वत जिल्ला बास्केटबल संघले यही तिहारमा देउसीभैलो खेली संकलित पैसाबाट मैदान पुर्ननिर्माण थालेको अध्यक्ष मिनबहादुर तिलिजा पुनले जानकारी दिनुभयो । उहाँकाअनुसार देउसीभैलोबाट पाँच लाख ८७ हजार नौ सय ८६ रुपैयाँ संकलन भएको छ । अहिले उक्त मैदान निर्माणका लागि अध्यक्ष पुनसहितका पदाधिकारी तथा सदस्यहरु श्रमदानसहित सक्रिय रहनुभएको छ ।
त्यस्तै मैदान निर्माणका लागि कुश्मा नगरपालिकाले पनि आवश्यक सहयोग गर्ने भएको छ । कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीले बास्केटबल एउटा लोकप्रिय खेल भएको र यो खेललाई बिस्तारका लागि कुश्मा नगरपालिकाले आवश्यक सहयोग गर्ने बताउनुभएको छ ।
‘बास्केटबल लोकप्रिय खेल हो, यसको प्रबद्र्धन गर्नुपर्छ’ जोशीले भन्नुभयो–‘त्यसैले कुश्मा नगरपालिकाले आवश्यक सहयोग गर्छ ।’ नगर प्रमुख जोशीले पुर्ननिर्माण हुन लागेको मैदानको अवलोकन गरी बास्केटबल मैदान निर्माणले बास्केटबल खेलप्रेमीमा खुशी ल्याउने बताउनुभयो । अध्यक्ष पुनले पछिल्लो समयमा युवापुस्तामा यसको लोकप्रियता बढ्दै गइरहेकोले विद्यालय तह र स्थानीय पालिकाहरुले अझ प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो ।
यसअघि पर्वत जिल्ला बास्केटबल संघको टिम बास्केटबल प्रतिष्पर्धामा २०८० सालमा गण्डकी प्रदेशमै प्रथम भएको थियो । त्यस्तै २०८१ सालमा गण्डकी प्रदेशमा दोस्रो भएको थियो । यसअघि पर्वतका कुनैपनि पालिकाले बास्केटबलको प्रबद्र्धनमा खर्च नगरेपनि ८० सालमा जलजला गाउँपालिकाले एक लाख रुपैयाँ बिनियोजन गरेको थियो ।
मैदानसंगै फाइबर बोर्ड, प्याराफिट, तारजालीलगायतका संरचना निर्माण हुने अध्यक्ष पुनले जानकारी दिनुभयो । उहाँका अनुसार प्राविधिक मुल्यांकनमा २७ लाख रुपैयाँ खर्च निस्किएपनि श्रमदान गरेर झण्डै १४ लाख रुपैयाँमा निर्माण पुरा गर्ने अनुमान गरिएको छ । पर्वत जिल्लामा धेरै बर्षअगाडीदेखि यो खेल हुँदै आएपनि ०७९ सालमा मिलन पाइजाको अध्यक्षतामा जिल्ला बास्केटबल संघ गठन गरिएको थियो ।
गतबर्ष संघको अधिवेशन गरी मिनबहादुर तिलिजा पुनको अध्यक्षतामा नयाँ समिति गठन गरिएको छ । संघको बरिष्ठ उपाध्यक्षमा ताराबहादुर पुन, उपाध्यक्षमा लुकबहादुर फकामी, सचिवमा निरमाया पाइजा पुन, कोषाध्यक्षमा राजकुमार पुन र सदस्यहरुमा गंगा पुन, माया तिलिजा, कृष्ण पुर्जा, दिपक पुर्जा, दिपक शेरपुर्जा, डिलबहादुर फकामी रहनुभएको छ । अहिले समिति दर्तागरी बास्केटबलको विकासको अभियानमा लागेको उपाध्यक्ष लुकबहादुर फकामीले जानकारी दिनुभयो । बास्केटबल खेलको आवश्यक विकास तथा प्रबद्र्धन गर्नको लागि पर्वत जिल्लाका सात वटै पालिकासहित देश बिदेशमा रहेका खेलप्रेमीमा संघले सहयोगको आब्हान गरेको अध्यक्ष मिनबहादुर तिलिजाले जानकारी दिनुभयो ।

spot_img

भर्खरै