पर्वत, विद्यालय उमेरका विद्यार्थीहरूमा क्रिकेट खेल्न सक्ने क्षमता अभिवृद्धिका लागि पर्वत जिल्ला व्यापी रूपमा अन्तर विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ । पर्वत क्रिकेट सङ्घको आयोजनामा शनिवारदेखि सुरु भएको प्रतियोगिता दोस्रो संस्करणको रूपमा आयोजना भएको हो । जिल्लाभित्रका १४ ओटा विद्यालयहरूको सहभागितामा प्रतियोगिता सञ्चालन गरिएको हो । कुश्मास्थित सशस्त्र प्रहरी बलको नं. २५ हेडक्वार्टर चण्डिकाको खेल मैदानमा प्रतियोगिता भइरहेको छ ।
प्रतियोगितामा प्रत्येक विद्यालयबाट १४ जना खेलाडी, १ जना प्रशिक्षक र १ जना म्यानेजर गरी जम्मा १६ जनाको टिम रहनेछ । प्रतियोगिता आइ.सी.सी.को नियमअनुसार र टी–२० फर्मेटमा सञ्चालन भइरहेको छ । खेलाडीका रूपमा कक्षा १० सम्म अध्ययनरत विद्यार्थी मात्र सहभागी भएका छन् । प्रतियोगितामा प्रथम हुने टिमलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने द्वितीय हुने टिमलाई पनि ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । साथै ‘म्यान अफ द म्याच’, प्रतियोगिताका उत्कृष्ट खेलाडी, उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यानलाई समेत विशेष पुरस्कार प्रदान गरिने सङ्घले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिम तथा खेलाडीहरूलाई विभिन्न पुरस्कारको व्यवस्था गरिएको छ ।
पर्वत क्रिकेट सङ्घले विद्यालय स्तरमै क्रिकेट खेलको विकास र प्रतिभाशाली खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताका फाइनल खेल पुस १९ गते हुने गरी आयोजकले टाई सिट सार्वजनिक गरेको छ ।
प्रतियोगिताको उद्घाटनको अवसरमा बोल्दै कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले खेलको विकासका लागि विद्यार्थी र खेल सम्बद्ध सङ्घ संस्थासँग सहकार्य गर्न र सक्दो सहयोग गर्न कुश्मा नगरपालिका तयार रहेको बताए । विद्यालय उमेरमा नै विद्यार्थीहरूलाई खेलप्रति आकर्षित गर्न सक्दा खेल सीप र अनुशासन कायम हुनुका साथै स्वस्थ नागरिक पनि तयार हुने उनको भनाइ छ ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष जङ्गबहादुर पुन, प्रदेश अस्पताल पर्वतको व्यवस्थापन समितिका अध्यक्ष याम परियार, प्याब्सन पर्वतका अध्यक्ष विमल पौडेल लगायतले शुभकामना व्यक्त गरे । सोही अवसरमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष पुनले उत्कृष्ट खेलाडीलाई पुरस्कार दिनका लागि पर्वत क्रिकेट सङ्घका अध्यक्ष रेसम के.सी.लाई नगद हस्तान्तरण गरेका छन् ।
अघिल्लो वर्ष भएको पहिलो संस्करणमा कुश्माको नारायण माध्यमिक विद्यालय विजेता र बन्दा चुवाको मंगलोदय माध्यमिक विद्यालयले उपविजेतामा चित्त बुझाएको थियो ।


