पर्वत, ऐतिहासिक धार्मिकस्थल मोदीबेणीधाममा बस्दै आएका जेष्ठ नागरिकलाई न्यानो कपडा बितरण गरिएको छ । डिल्लीराम लामिछानेको १०औँ स्मृति दिवसको अवसर पारी डिल्लीराम स्मृत्ति प्रतिष्ठानले शनिबार एक कार्यक्रमकाबिच न्यानो कपडा बितरण गरेको हो । मोदीबेणी धाममा रहेका १० जना जेष्ठ नागरिकलाई न्यानो कपडा बितरण गरिएको प्रतिष्ठानका संरक्षक सिताकुमारी काफ्ले लामिछानेले जानकारी दिनुभयो ।
कार्यक्रमकी गण्डकी प्रदेश सभा सदस्य रेखा गुरुङले स्व.डिल्लीराम लामिछाने राजनीतिमा होस् वा सामाजिक क्षेत्रमा निष्ठा, त्याग र आदर्शको प्रतिक भएको स्मरण गर्दै उहाँको निधनले पर्वतको राजनीतिमा त्यस्तो ब्यक्तिको अभाव भएको धारणा राख्नुभयो । सामाजिक सेवामार्फत उहाँका मूल्य र आदर्शलाई जीवित राख्न प्रतिष्ठानले खेलेको भूमिका सराहनीय रहेको भन्दै यसलाई निरन्तरता दिइरहन उहाँले आग्रह गर्नुभयो ।

नेपाली काँग्रेस गण्डकी प्रदेशका सहमहामन्त्री एवम् कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीले डिल्लीराम लामिछानेको इमान्दारिताको राजनीतिको स्मरण गर्नुभयो । ‘राजनीतिमा होस वा सामाजिक कर्ममा होस्, स्व.डिल्लीजीको त्यो इमान्दारिता भुल्न सकिदैन’ नगर प्रमुख जोशीले भन्नुभयो ।
डिल्लीराम लामिछाने स्मृति प्रतिष्ठान नेपालका अध्यक्ष हिरामणी सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख संरक्षक एवम् स्वर्गिय लामिछानेकी धर्मपत्नी सिता काफ्ले लामिछाने, मोदिबेणी दिब्यधामका अध्यक्ष केशवदास बैरागीलगायतले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव सुरेन्द्र केसीले गर्नुभएको थियो । २०२५ साल असोज ३ गते पर्वतको कटुवाचौपारीमा जन्मेका लामिछानेको ४७ बर्षको उमेरमा २०७२ साल पौष १२ गते निधन भएको थियो ।



