spot_img

बसाईसराईको पीडा : घर छन, मान्छै छैनन्

पर्वत / पर्वतको फलेवास नगरपालिकाबाट एक वर्षमै पाँच सय जनाभन्दा बढी नागरिक बसाइँ सरेका छन्।आर्थिक वर्ष विसं २०८१/८२ मा पाँच सय २५ जना बसाइँसराइ गरेका हुन्। नगरका विभिन्न वडावाट एक सय ५३ घरपरिवारका पाँच सय २५ जना बसाइँसराइ गरेको नगरपालिकाका पञ्जीकाधिकारी अधिकृत ऋषिराम शर्माले बताए। उक्त अवधिमा ३३ जना नगरमा फर्किएर आएका छन्। एघार वडा रहेको नगरपालिकाबाट चालु वर्षमा पनि बसाइँसराइ जानेको दर उल्लेख्य मात्रामा बढेको पाइएको छ।

फलेवास –११ वाट धेरै परिवार विस्थापित भएका छन् भने सबैभन्दा थोरै बसाइँसराइ वडा नंं ५ खानीगाउँबाट भएको छ। आसन्न निर्वाचनको वर्ष भएकाले पनि मताधिकार बसेको स्थानबाटै प्रयोग गर्न तथा अन्य सेवा सुविधाका लागि बाहिरिने दर बढेको नगरपालिकाका प्रवक्ता अच्युत तिवारीले जानकारी दिए। शिक्षा, स्वास्थ्य, यातायात र रोजगारी अवसरको खोजीमा नगरपालिकाबाट बाहिरिनेको दर बढ्दै जान थालेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीका अनुसार वडा नं १ कार्कीनेटामा दुई जना बसाइँ आएका छन्भने ३५ जना बसाइँसराइ गरी गएका छन्। यस्तै गरी वडा नं २ थापाठामा आठ जना बसाइँसरी आएका छन् भने ३५ जना बसाइँसराइ गरी गएका छन्। यस्तै वडा नं ३ शङ्करपोखरीमा तीन जना बसाइँसराइ गरी आएका छन्भने ४८ जना बसाइँसराइ गरी गएको नगरपालिकाका तथ्याङ्क रहेको छ।

फलेवास –४ मुडिकुवाबाट बसाइँसराइ जानेको सङ्ख्या २९ छ। फलेवास –५ खानीगाउँमा यसरी जानेको सङ्ख्या २९ रहेको छभने फलेवास –६ देवीस्थानमा १७ जना बसाइँसरी आएको प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले बताए। उक्त वडाबाट ५३ जना बसाइँसरी गएका छन्। फलेवास –७ लिमीठानामा १८ जना बसाइँसराइ गरी आएका छन् भने ४९ जना गएका छन्।

फलेवास –८ ठानमौलामा ३३ जना बसाइँसराइ गरी गएका छन्। फलेवास –९ भङ्गरामा दुई जना बसाइँ आएका छन्भने ५२ जना बसाइँसराइ गएका छन्। त्यसैगरी, फलेवास –१० कुर्घामा चार जना बसाइँसराइ गरी आएका छन् भने ५० जना बसाइँ सरेर अन्यत्र गएका छन्। फलेवास –११ पाङ्गराङमा सात जना बसाइँसराइ आएका छन्भने ७१ जना बसाइँसराइ गरी गएका छन्।

नगरका पञ्जीकाधिकारी ऋषिराम शर्माका अनुसार यो वर्षमात्र एक सय ५३ घरपरिवार नगरपालिकाबाट बसाइँसराइको प्रमाणपत्र लिएर सरेको जानकारी दिए। उनका अनुसार बसाइँसरेर पोखरा, काठमाडौँ, चितवन, बुटवललगायत स्थानमा जाने गरेका छन्।

बसाइँसराइ दर बढ्नुमा नगरमा रोजगारीको अवसर नहुनु पहिलो कारण रहेको उनको दाबी छ। चौबीस हजार ६७८ जनसङ्ख्या भएको नगरपालिकाबाट बर्सेनि बसाइँसराइको दर बढ्दै गएको शर्माको भनाइ छ। सदरमुकामपछिको दोस्रो नगरपालिका रहेको फलेवासमा दोस्रो कार्यकालको तेस्रो वर्षमा बसाइँसराइको दर बढी देखिएको नगरपालिकाले जनाएको छ।

गाउँगाउँमा सिंहदरबार आएर विकास निर्माणका काम धमाधम बढ्दै गए पनि बस्ती रित्तिँदै जानु दुःखद् पक्ष भएको स्थानीयवासी विकास लम्सालले बताए। स्थानीय सरकारले रोजगारीको सृजना र स्वरोजगारमूलक कार्यक्रम सञ्चालन गरी गाउँमै बस्ने र कमाउने वातावरण बनाउनुपर्ने उनको भनाइ छ।

spot_img

भर्खरै