पर्वत/कुश्मा नगरपालिकाका छ वटा वडामा मुख स्वास्थ्य परियोजना सञ्चालन गरिरहेको जिभाय नेपालले कुश्मा स्वास्थ्य चौकी पाङमा दन्त क्लिनिक सञ्चालनमा ल्याएको छ । मुख स्वास्थ्य सम्बन्धी समस्याहरुलाई न्यूनीकरण गर्ने र जनचेतना फैलाउने उद्देश्यले कुश्मा नगरपालिकासंगको सहकार्यमा वडा नम्बर १, २, ६, ९ र ११ मा सञ्चालित परियोजना अन्र्तगत पाङमा दन्त क्लिनिक सञ्चालनमा ल्याइएको हो ।
क्लिनिकको कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले शुभारम्भ गर्दै मुख स्वास्थ्य परियोजना अत्यन्तै प्रभावकारी बनेको बताउनुभयो । मानिसमा लाग्ने बढी रोगहरु मुखमार्फत लाग्ने भएकोले बिद्यालयस्तरदेखि नै यसको चेतना फैलाउने र न्युनिकरणले धेरै सुधार आएको जानकारी दिनुभयो । मुख तथा दाँतको उपचार महंगो भइरहेको सन्दर्भमा ग्रामिणबस्तीमै दन्त क्लिनिक स्थापनाले पाङ खुर्कोटक्षेत्रका बासिन्दालाई निकै सहज हुने दाबी पनि नगर प्रमुख जोशीले गर्नुभयो । स्थापना भएको क्लिनिकलाई दिगो बनाउनका लागि नगरपालिकाले ध्यान दिने पनि जोशीले बताउनुभयो । ‘स्थापना गर्नु मात्रै ठुलो कुरा होइन, क्लिनिकको दिगोपनाको कुरा छ’ जोशीले भन्नुभयो ।
कुश्मा नगरपालिकाका उपप्रमुख स्वस्थानी रिजालले साप्ताहिक क्लिनिक भएपनि यसले ग्रामिणबस्तीमा निकै सुविधा दिने बताउनुभयो । क्लिनिकबाट लाभ लिनका लागि स्थानीयलाई आग्रह पनि रिजालले गर्नुभयो । कुश्मा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत किरण पौडेलले मुख स्वास्थ्य परियोजनाले गरेका कामहरु सराहनीय रहेको बताउनुभयो । दाँत, मुख, गिजाका समस्यालाई समयमै क्लिनिकमा आएर उपचार गराउन पनि उहाँले आग्रह गर्नुभएको थियो ।
कुश्मा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष खगराज पौडेलको अध्यक्षतामा भएको क्लिनिक शुभारम्भ कार्यक्रममा नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर २ का अध्यक्ष लालकृष्ण बाँस्तोला, जिभाय नेपालका अध्यक्ष गोबिन्दप्रसाद पौडेल, कुश्मा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख यामप्रसाद शर्मा, परियोजनाका कार्यक्रम निर्देशक सरस्वती पुरी, पाङ स्वास्थ्य चौकीका प्रमुख जितेन्द्र ठाकुर, जनस्वास्थ्य निरिक्षक कल्पना रिजाल लगायतले बोल्नुभएको थियो । दन्त क्लिनिक सञ्चालनमा आएपछि त्यसक्षेत्रका स्थानीय हर्षित भएका छन् ।
कुश्मा नगरपालिकाको सहकार्यमा जिभाय नेपालले जिभाय फाउण्डेसनको सहयोगमा परियोजना सञ्चालन गरेपछि अहिले कहिल्यै दाँत नमाझ्नेहरु नियमित दाँत माझ्न थालेका छन् । कार्यक्रम लागु भएका छ वटा वडामा राम्रो उपलब्धीपछि नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले सबै वडामा कार्यक्रम सञ्चालन गर्नुपर्नेमा समेत जोड दिएका छन् । कार्यक्रममा मुख स्वास्थ्य परियोजनाका कार्यक्रम निर्देशक सरस्वती पुरीका अनुसार साप्ताहिक दन्त क्लिनिक, विद्यालय मुस्कान कार्यक्रम, विद्यालय स्क्रीनिङ तथा सचेतना कार्यक्रम र समुदाय स्क्रीनिङ तथा सचेतना कार्यक्रम गरी चार चरणमा कार्यक्रम सञ्चालन हुँदै आएको छ ।
विद्यालयका बालबालिका र समुदायस्तरमा समेत मुखको सरसफाई नभएकै कारण धेरै प्रकारका रोग भित्रिने भन्ने कुरामा ध्यान नदिदा समस्या आएको भन्दै पुरीले मुख स्वास्थ्य सेवा अभिबृद्धि र समग्र सुधार गर्ने नै परियोजनाको प्रमुख लक्ष्य रहेको बताउनुभयो । उहाँका अनुसार मुखको स्वास्थ्यमा ध्यान नदिदा पाँच बर्षमुनीका ६७ प्रतिशत बालबालिकाको दाँत सड्ने समस्या देखिएको छ ।
त्यसैगरी १२÷१३ बर्षमुनिका ४१ प्रतिशत बालबालिकाको दाँत सड्ने समस्या फेला परेको पनि पुरीले जानकारी दिनुभयो । यो कार्यक्रम कुश्माका छ वटा वडामा सन् २०२७ सम्म सञ्चालन हुनेछ । पर्वतसहित बागलुङ, कास्की र लमजुङमा गरी चार वटा जिल्लामा जिभाय नेपालले मुख स्वास्थ्य परियोजना सञ्चालन गरिरहेको छ ।
पाङमा दन्त क्लिनिक स्थापना, नगरप्रमुख जोशीद्धारा शुभारम्भ


