पर्वत, पाठेघरको मुखको क्यान्सर बिरुद्ध यसबर्ष पनि एचपीभी खोप कार्यक्रम अभियानका रुपमा सञ्चालन गरिने भएको छ । कुश्मा नगरपालिकाले यही २७ देखि २९ गतेसम्म एचपीभी खोप अभियान सञ्चालन गर्ने तयारी गरेको हो । नगरपालिकाले मंगलबार जनप्रतिनिधि, स्वास्थ्यकर्मी र सरोकारवाला निकायहरुसंग अभिमुखीकरण कार्यक्रम गरेर अभियानको बारेमा जानकारी दिएको हो । यो खोप माघ २५ देखि फागुन १५ सम्म देशभर लगाउने राष्ट्रिय कार्यक्रम छ ।
कार्यक्रमअनुसार यसबर्ष कक्षा ६ मा अध्ययनरत सबै छात्रा तथा विद्यालय बाहिर रहेका १० वर्ष उमेरका किशोरीलाई एचपीभी खोप दिइनेछ । गत वर्षको एचपीभी खोप अभियानमा छुटेका कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका ११ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पनि यो खोप दिइने व्यवस्था गरिएको छ । कार्यक्रममा कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीले सबै रोगहरु मध्ये क्यान्सर सबैभन्दा बढी घातक भएकोले पाठेघरको मुखको क्यान्सरबाट जोगिनका लागि आआफ्ना छोरीहरुलाई एचपीभी खोप कार्यक्रममा सहभागी गराउन अभिभावकहरुलाई आग्रह गर्नुभयो । नगरभित्रका कोहीपनि लक्षितबर्गका छात्रा नछुट्नेगरी अभियान चलाउन पनि स्वास्थ्यकर्मीलाई नगर प्रमुख जोशीले आग्रह गर्नुभएको थियो ।
कुश्मा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत किरण पौडेलले नजिकैको विद्यालय तथा स्वास्थ्य संस्थामा बुझेर खोप लगाउन आग्रह गर्नुभयो । ‘कोहीपनि लक्षित समुह नछुट्नेगरी खोपमा सहभागी हुन र सहभागी गराउन आग्रह गर्दछु’ प्रमुख प्रशासकिय अधिकृत पौडेलले भन्नुभयो । कार्यक्रममा प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका प्रमुख बद्री आचार्य पर्वत जिल्लाभर नौ सय ४५ जना छात्राहरुलाई यो खोप लगाउने तयारी भएको जानकारी दिनुभयो ।
कुश्मा नगरपालिका स्वास्थ्य शाखा प्रमुख यामप्रसाद शर्माले कुश्मा नगरपालिकामा माघ २७ देखि २९ गतेसम्म खोप लगाउने तयारी गरिएको र सबै तयारी पुरा भएको बताउनुभयो । उहाँका अनुसार नगरभित्रका तीन सय ३२ जना छात्रालाई खोप लगाइँदैछ । नगर प्रमुख रामचन्द्र जोशीको अध्यक्षतामा भएको कार्यक्रममा खोप अभियानको विषयमा नगरपालिकाका सिनियर अनमी दुर्गा सापकोटाले आफ्नो प्रस्तुतिकरण राख्नुभएको थियो ।


