spot_img

निर्वाचन सुरक्षार्थ आजबाट सेना परिचालन

पर्वत, आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षार्थ नेपाली सेना बुधबारबाट ‘फिल्ड’ मा तैनाथ हुने भएको छ । २१ फागुनका लागि तय निर्वाचन सुरक्षाका लागि ठीक एक महिनाअघिबाटै देशभर सेना परिचालन गर्न लागिएको हो ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले एकीकृत निर्वाचन सुरक्षा कार्ययोजनाअनुसार सेना फिल्डमा परिचालन हुने बताए । ‘निर्वाचन सुरक्षार्थ तय भएको कार्ययोजनामा मतदानको एक महिनाअघिबाटै फिल्डमा सेना तैनाथ गर्ने भन्ने छ, त्यसअनुसार नै सेनाको जनशक्ति देशभर परिचालन गरिँदै छ,’ उनले भने, ‘अब मतदान सम्पन्न नभएसम्म उनीहरू फिल्डमै रहन्छन् ।’ मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन सुरक्षार्थ सेना परिचालन गर्न ११ मंसिरमै स्वीकृति दिएका थिए । त्यसपछि केन्द्रीय सुरक्षा समितिले एकीकृत निर्वाचन सुरक्षा कार्ययोजना–२०८२ तर्जुमा गरेको थियो ।

प्रवक्ता बस्नेतका अनुसार केन्द्रीय र नख्खु कारागारसहित देशभरका ७५ वटै कारागार तथा बन्दी/बाल सुधार गृहको सुरक्षा जिम्मेवारी पनि निर्वाचन अवधिभर नेपाली सेनालाई नै दिइएको छ । कारागार सुरक्षामा रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई निर्वाचन सुरक्षार्थ फिल्डमा खटाइने भएपछि मतदान सकिएर मतपरिणाम नआउँदासम्म कारागारको अस्थायी सुरक्षा व्यवस्थापन जिम्मा सेनालाई दिइएको हो । ‘कारागारको सुरक्षामा खटिएका अन्य सुरक्षा निकायबाट अस्थायी जिम्मेवारी ग्रहण गर्न बुझबुझारथको काम भइरहेको छ,’ सेनाका प्रवक्ता बस्नेतले भने ।

spot_img

भर्खरै