पर्वत/ सदरमुकाम कुश्माबजारमा पहिलो पटक बास्केटबल मैदान निर्माण सम्पन्न भएको छ । कुश्मा नगरपालिका वडा नम्बर ५ बडागाउँचौरमा जिल्ला खेलकुद विकास समितिको स्वामित्वमा रहेको जग्गामा पर्वत जिल्ला बास्केटबल संघले मैदान निर्माण सम्पन्न गरेको हो । मैदानको कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीले उद्घाटन गर्नुभयो ।
संघले देउसीभैलोका साथै सरकारी र गैरसरकारी निकायको सहयोगमा मैदान निर्माण सम्पन्न गरेको हो । संघका अध्यक्ष मिनबहादुर पुनकाअनुसार श्रमदानबाहेक १८ लाख ३१ हजार चार सयको लागतमा निर्माण गरिएको हो । देउसीभैलोबाट संकलित रकम, कुश्मानगरपालिकाबाट पाँच लाख रुपैयाँ, मोदी गाउँपालिकाबाट एक लाख ५० हजार, जलजला गाउँपालिकाबाट एक लाख, पैयूँ गाउँपालिकाबाट ५० हजार रुपैया र बिभिन्न मनकारी संघसंस्था तथा ब्यक्तिको सहयोगमा निर्माण पुरा भएको अध्यक्ष पुनले जानकारी दिनुभयो ।

मैदानको उद्घाटन गर्दै नगर प्रमुख जोशीले पछिल्लो पटक बास्केटबल खेलप्रति आकर्षण बढ्दै जाँदा सदरमुकामसमेत रहेको कुश्माबजारमा बास्केटबल मैदान अत्यावश्यक रहेको बताउनुभयो । मैदान आवश्यक ठानेर नै नगरपालिकाले पाँच लाख रुपैयाँ सहयोग गरेको पनि उहाँले जानकारी दिनुभयो ।
मैदान निर्माणसंगै कुश्मामा ठुला प्रतियोगिता आयोजना गरेर यसक्षेत्र वरिपरि रहेका पर्यटकीयक्षेत्रको प्रचारप्रसार गर्नुपर्नेमा समेत जोड दिनुभयो । आगामी दिनमा संघले गर्ने प्रतियोगितामासमेत सहकार्य गर्न कुश्मा नगरपालिका तयार रहेकोमा जोड दिदै नगर प्रमुख जोशीले स्वास्थ्यका लागि र पहिचानका लागि पनि खेलक्षेत्रको विकास आवश्यक रहेको बताउनुभयो ।
कुश्मा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष रामहरि शर्माले जिल्ला बास्केटबल संघले आफ्नै वडामा बास्केटबल मैदान निर्माण गरेकोमा खुसी ब्यक्त गर्दै संघले गर्ने गतिविधिहरुमा सधैँ सक्दो सघाउन तयार रहेको बताउनुभयो ।

पर्वत जिल्ला बास्केटबल संघका अध्यक्ष मिनबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा आदिबासी जनजाति महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष गणेशबहादुर पुन, नेपाल मगर संघका केन्द्रीय सदस्य सोमबहादुर पुनलगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा विभिन्न समुहका सांस्कृतिक प्रस्तुती प्रस्तुत गरिएको थियो । कार्यक्रमको सञ्चालन संघका सचिव निरमाया पाइजा पुनले गर्नुभएको थियो ।
बास्केटबल मैदानको उद्घाटनसंगै बिद्यालयस्तरीय प्रतियोगितासमेत आयोजना गरिएको छ । प्रतियोगितामा छ वटा बिद्यालयका बिद्यार्थी सहभागी भएको अध्यक्ष पुनले जानकारी दिनुभयो ।



