spot_img

तरकारी उत्पादन गर्न युवालाई रु चौबिस लाख अनुदान

इलाम, भदौ १४। जिल्ला कृषि विकास कार्यालयले युवा लक्षित व्यावसायिक तरकारी उत्पादन कार्यक्रमअन्तर्गत ६० जना युवालाई रु २४ लाख अनुदान दिइने भएको छ ।

बेरोजगार युवा तथा वैदेशिक रोजगारीबाट फर्किएका युवालाई गाउँमै स्वरोजगार दिलाउने उद्देश्यका साथ तरकारीखेती व्यवसाय सञ्चालन गर्न अनुदान दिइने भएको हो ।

युवालाई आलु, अदुवा, अलैची, इस्कुस, प्याजखेती तथा मुला, बन्दागोभी, काउलीलगायतका तरकारी व्यवसाय गर्न चाहने युवालाई रु ४० हजारको दरले अनुदान उपलब्ध गराउने भएको हो ।

अनुदानका लागि जिल्ला कषि विकास कार्यालय तथा विभिन्न कृषि सेवा केन्द्रमार्फत ७०० जनाको निवेदन परेको बागवानी विकास अधिकृत जीवन आचार्यले जानकारी दिनुभयो । अनुदानका लागि परेका निवेदनलाई आवश्यक कागजात तथा अनुगमन गरेर युवालाई छनोट गरिने उनले बताए ।

छनोटमा पर्ने युवालाई चालु आवको असोजअगावै तरकारी खेतीसम्बन्धी तालिम समेत उपलब्ध गराउने बागवानी अधिकृत आचार्यले बताए ।

आव २०७२–७३ का लागि तरकारी विकास निर्देशनालय खुमलटारमार्फत व्यवसायिक तरकारी उत्पादन कार्यक्रमका लागि यसवर्ष रु २४ लाख रकम विनियोजन भएको हो । रासस

 

spot_img

भर्खरै