spot_img

गाउँमै बसेर बिदेशको कमाई गर्दै ज्ञानप्रसाद

पर्वत/छोरा बिदेश । बुहारीसहित नाती–नातीना शहर । गाउँघरमा बृद्धबृद्धा मात्रै । कमाउन गाउँमै रोजगारी वा स्वरोजगार हुन सकिन्छ भन्ने सोचको अभाव । रोजगारी गर्ने वा कमाउने भन्नेबित्तिकै अहिले सबैको मनमा झुण्डिने शब्द बनेको छ, बैदेशिक रोजगारी । प्रायः डुल्दा बैदेशिक रोजगारीमा नगएको घर नै पाइदैन । पछिल्लो समय देखिने गाउँघरको चित्र हो यो ।
हो अहिले धेरै युवायुवती देशमै बस्ने भन्दा बैदेशिक रोजगारीमा हानिने प्रतिष्पर्धा रहेको समयमा यहाँका एक युवा भने गाउँमै कृषि उत्पादनमा कस्सिएका छन् । पर्वतको बिहादी गाउँपालिका वडा नम्बर ४ वहाकीका ज्ञानप्रसाद भुसालले आफ्नै घर वरपरको जमिनलाई उपयोग गर्दै कृषि उत्पादनमा सक्रिय भएका छन् । केही बर्ष यातायात क्षेत्रमा काम गरेका भुसालले विगत दुई बर्षदेखि घर वरपरको जमिनलाई बाझिनबाट रोक्दै तरकारी उत्पादनमा लागेका छन् ।
गतबर्ष घिरौला, करेला, लौका, टमाटरलगाएर राम्रो आम्दानी गरेका उनले यसबर्ष तरकारीसंगै तीन हजार खुर्सानीका बिरुवा रोपेका छन् । आकाश कृषि तथा पशुपन्छी फर्म दर्ता गरी कृषि उत्पादनमा लागेका उनले तरकारी र खुर्सानीबाट बार्षिक १० लाख कमाउने लक्ष्य लिएका छन् । ‘गतबर्षदेखि तरकारी खेतीमा लागेको हुँ, यसबर्ष तरकारीसंगै अकबरे खुर्सानीलाई प्राथमिकतामा राखेको छु’ उनले भने–‘घरमै बसेर बार्षिक १० लाख रुपैयाँ कमाउने योजना छ ।’
छरछिमेक, गाउँटोलका अधिकांश युवा बैदेशिक रोजगारीमा गएको देखेका भुसालले आफुले भने कहिल्यैपनि बैदेशिक रोजगारीमा जाने योजना नबनाएको बताए । ‘मलाई कहिल्यैपनि रोजगारीका लागि बिदेश जाने सोच आएन’ उनले भने । उनले अन्य ब्यक्तिको जमिनसमेत भाडामा लिएर तरकारी र खुर्सानी बिस्तार गर्ने योजनासमेत सुनाए ।
उनको तरकारी र खुर्सानी उत्पादनमा जिल्ला कृषि ज्ञान केन्द्रले ५० प्रतिशत अनुदानमा जोत्ने ट्याक्टर र खुर्सानीका लागि मर्चिङ प्लाष्टिक उपलब्ध गराएको छ । गतबर्ष उत्पादन भएको तरकारी स्थानीयस्तरमै खपत भएपनि यसबर्षदेखि पैयूँको हातेमालोचोक, स्याङ्जाको वालिङ, पर्वत सदरमुकाम कुश्माबजारसम्म पु¥याउने सोच बनाएको उनले जानकारी दिए । उनले यसबर्षपनि खुर्सानीसंगै घिरौला, करेला, काक्रो, लौका, टमाटर लगाएका छन् ।
तरकारी उत्पादनमा जोड दिएपनि सिंचाई पानीको भने अल्ली समस्या रहेको उनले खुलाए । दैनिक एक पटक धारामा आउने पानीलाई उपयोग गरेर नै तरकारीमा लगाउने गरेको उनले बताए । ‘पानीको अल्ली समस्या नै छ, बर्षातको बेला आकाशको पानीले पुग्छ तर हिउँदमा समस्या नै छ’ उनले भने । सिंचाईको मात्रै ब्यवस्था भएमा उनले अझै तरकारी बिस्तार गर्ने सोच बनाएका छन् । तरकारी लगाउनकै लागि गतबर्षदेखि बारीमा मकै छर्न छाडेका उनले अन्नभन्दा तरकारीबाट धेरै राम्रो आम्दानी हुने बताए ।

 

spot_img

भर्खरै