spot_img

शंकरपाेखरीमा जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

पर्वत : फलेवास नगरपालिका–३ शंकरपोखरीमा रहेको त्रिभुवन माध्यमिक विद्यालयको आयोजनामा पर्वत जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
हाल गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेका स्वकीय सचिवका रूपमा रहेका नेपाल सरकारका उपसचिव राजेन्द्र बहादुर क्षेत्री र उहाँकी धर्मपत्नी राधा कुमारी कुँवर क्षेत्रीले आफ्नी आमा तथा सासू आमाको स्मृतिमा स्थापना गर्नुभएको तेजकुमारी क्षेत्री स्मृति अक्षयकोषबाट शुक्रवार प्रतियोगिताको आयोजना गरेको हो ।
प्रतियोगितामा पशुपति माध्यमिक विद्यालय मोदीका सुवास पौडेल प्रथम, कालीगण्डकी एकेडेमी कुश्माकी बिनिसा क्षेत्री द्वितीय, थापाठाना माध्यमिक विद्यालय फलेवासकी गरिमा शर्मा तृतीय र नवजागृत माध्यमिक विद्यालय मोदीकी रोश्मी बि.क सान्त्वना स्थानमा आएका छन् । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थानमा आएका विद्यार्थीहरूले पुरस्कार स्वरूप क्रमशः नगद १० हजार, सात हजार, चार हजार र दुई हजार रुपैयाँ प्राप्त गरेका छन् । कक्षा नौदेखि १२ सम्म अध्ययनरत माध्यमिक तहका विद्यालयबाट सहभागी भएका विद्यार्थीले ‘गुणस्तरीय शिक्षाका लागि स्थानीय तहको भूमिका’ शीर्षकमा विचार व्यक्त गरेका थिए । प्रतियोगितामा जिल्लाका कुल २० वटा विद्यालयहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारीले विद्यार्थीहरूले आफ्नो विचारमा भनेको जस्तै गुणस्तरीय शिक्षाका लागि स्थानीय तहको भूमिका महत्त्वपूर्ण हुने बताए । तर त्यसमा शिक्षक, विद्यार्थी र अभिभावकहरूको पनि उत्तिकै जिम्मेवारीपूर्ण भूमिका आवश्यक हुने उनको भनाई छ ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेका स्वकीय सचिवका रूपमा रहेका नेपाल सरकारका उपसचिव राजेन्द्र बहादुर क्षेत्रीले नेपालको संविधानले नै माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिएकाले स्थानीय तहहरूले स्थानीय आवश्यकता र व्यवहारिक ज्ञान सहितको शिक्षाको अभ्यास गर्नुपर्ने सुझाव राखे । शिक्षामा नयाँ प्रयोग, प्रविधिको सदुपयोग र परम्परावादी शैलीमा परिवर्तन ल्याउनका लागि शिक्षकहरूलाई त्यस्तै खालका तालिमहरू प्रदान गरिनुपर्ने क्षेत्रीको भनाई छ ।
फलेवास नगरपालिकाका शिक्षा अधिकारी कृष्णप्रसाद आचार्यले फलेवास नगरपालिकाले शिक्षा क्षेत्रमा गरिरहेका प्रयासहरूको बारेमा बताए । कार्यक्रममा समाजसेवी गिरीजाप्रसाद तिवारी, अभिभावक कमल भुसाल लगायतले पनि बोलेका थिए । अभिभावक, विद्यार्थी र सरोकारवालाहरूले पछिल्लो समयमा व्यवहारिक शिक्षामा बढी जोड दिएकै कारण बिद्यार्थीहरु किताबी कोरा ज्ञानमा मात्रै आधारित हुन छाडेको आचार्यको भनाई छ ।

उक्त प्रतियोगिता त्रिभुवन माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर थापाको अध्यक्षतामा भएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष थापाले तेजकुमारी क्षेत्री स्मृति अक्षयकोषमार्फत आगामी दिनमा विभिन्न कार्यक्रमहरूको आयोजना गरिने बताउँदै प्रतियोगितामा आर्थिक व्यवस्थापन गरिदिएकोमा संस्थाप्रति आभार व्यक्त गरे । यो कार्यक्रमले शैक्षिक क्षेत्रको उन्नयनको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै अध्यक्ष थापाले सहयोगी संस्थालाई धन्यवाद ज्ञापन गरे । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षकद्धय झलक पौडेल र पुष्पा शर्माले गरेका थिए ।

spot_img

भर्खरै