पर्वत/कुश्मा नगरपालिकाको प्रशासकिय भवन निर्माण सुरु गरिएको छ । कुश्मा नगरपालिका वडा नम्बर ५ स्थित जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयसंगै जोडिएको जग्गामा भवन निर्माण सुरु गरिएको हो । भवनको कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीले बिहिबार बिहान शिलन्यास गर्नुभएको छ । १३ करोड ८४ लाख आठ हजार ५१ रुपैयाँ ७५ पैसाको लागतमा उक्त भवन निर्माणको जिम्मा न्यु ड्राइगन निर्माण सेवा काभ्रेपलाञ्चोकले लिएको छ ।
गत भदौ ५ गते कुश्मा नगरपालिकासंग सम्झौता गरेको न्यु ड्रागन निर्माण सेवाले ०८३ फागनु ५ भित्र सम्पन्न गर्नुपर्नेछ । निर्माण कम्पनीले भने बिचमा कुनै समस्या नआए डेढबर्षभित्रै भवन बुझाउने दाबी गरेको छ । भवनको शिलन्यासपछि आयोजित कार्यक्रममा नगर प्रमुख रामचन्द्र जोशीले प्रशासकिय भवनपछि नगरबासीलाई सेवा दिनका लागि सहयोग पुग्ने बताउनुभयो । जग्गा प्राप्ती र भवन निर्माणका लागि सहयोग गर्ने सबैलाई धन्यबाद दिदै जोशीले लामो समयदेखि भवन निर्माण गर्ने आफ्नो प्रयास सफल भएकोमा खुशी ब्यक्त गर्नुभयो ।
भवन निर्माण गर्ने जग्गा जिल्ला समन्वय समितिले उपलब्ध गराएको हो । दुई रोपनी आठ आना जग्गामा निर्माण हुने भवन लिफ्टसहित साढे छ तलाको हुने पनि नगर प्रमुख जोशीले जानकारी दिनुभयो । शिलन्यास कार्यक्रममा नगर उपप्रमुख स्वस्थानी रिजाल, निबर्तमान उपप्रमुख सिता काफ्ले लामिछाने, प्रमुख प्रशासकिय अधिकृत नेत्र पौडेल, जनप्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका नेताहरु, कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।