spot_img

मृगौलापीडितको उपचारार्थ अमेरिकामा अर्जुनले संकलन गरे चार लाख बढी रकम, घरमै पुगेर हस्तान्तरण

पर्वत/कुश्मा नगरपालिका वडा नम्बर ८ चुवा घर भई अमेरिकामा बस्दै आएका अर्जुन क्षेत्रीले मृगौला पीडितको उपचारार्थ चार लाख बढी संकलन गरी पठाएका छन् । दुवै मृगौलामा खराबी आएपछि उपचाररत पर्वतको कुश्मा नगरपालिका– ८ चुवाका २५ वर्षिय बिजय भण्डारीको उपचारार्थ क्षेत्रीले आफुसहित संकलन गरेको चार लाख १२ हजार छ सय ५२ रुपैयाँ पठाएका हुन । आफु अमेरिकामा भएपनि नेपालका दिनदुखी, बिपन्न बिरामीका साथै अन्य सामाजिक क्षेत्रमा समेत सहयोग गर्दै आएका क्षेत्रीले गाउँकै युवामाथि बज्रपात परेपछि सहयोग संकलन अभियान चलाएका थिए । उनका अनुसार अमेरिकामा तीन हजार ८८ डलर संकलन भएको थियो । क्षेत्रीले भण्डारीको उपचारका लागि आफु एक्लै दुई सय डलर सहयोग गरेका छन् । अन्य ५५ जना मनकारी व्यक्तिहरुवाट गरी चार लाख १२ हजार छ सय ५२ रुपैयाँ संकलन भएको हो ।
उक्त रकम नेपाल पत्रकार महासंघ पर्वत शाखाको समन्वयमा कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीमार्फत हस्तान्तरण गरिएको छ । उपचाररत बिजयका बुवा शेरबहादुरलाई जोशीले घरमै पुगेर सहयोग रकम हस्तान्तरण गरेका थिए । रकम हस्तान्तरण गर्दै जोशीले मुटु, मृगौला र क्यान्सरजस्ता रोगको राज्यले निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने बताए । यस्ता रोगको उपचारका लागि ठुलो धनराशी आवश्यक पर्ने भएकाले गरिब तथा असहायका लागि समस्या हुने गरेको उनको भनाई थियो । विदेशमा रहेर पनि नेपाली दाजुभाईको पिडामा मल्हम लगाउन योगदान गर्नुहुने अर्जुन क्षेत्री लगायत सवैलाई नगर प्रमुख जोशीले धन्यवाद व्यक्त गर्दै नगरपालिकाको तर्फवाट पनि पिडित भण्डारीको उपचारका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य छविलाल तिवारीले मृगौला पिडित भण्डारीको उपचारार्थ सहयोग गर्ने महानुभावको नाम बाचन गरेर सुनाउँदै सम्पुर्ण सहयोगी दाताहरुप्रति आभार व्यक्त गरे । गम्भिर रोग लागेका बेला यस्तै सहयोगदाताहरुको खाँचो रहेको औल्याउँदै अन्यलाई पनि सक्दो सहयोग गर्न आव्हान गरेका थिए । पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटाले मृगौला पिडित भण्डारीको उपचारका लागि प्रवासीहरुले संकलन गरेर पठाएको रकम हस्तान्तरण गर्ने पुण्य कार्यमा सहकार्य गर्न पाएकोमा सहयोगदाताप्रति आभार व्यक्त गर्दै सञ्चारकर्मी र सञ्चार माध्यमकै कारण पिडितको उपचार खर्च जुटाउन मद्धत पुगेको बताए । उनले आगामी दिनमा पनि पिडितको उपचारका लागि थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै भण्डारीको सिघ्र स्वास्थ्य लाभको कामना गरे ।
कार्यक्रममा कुश्मा नगरपालिका वडा नं. ८ चुवाका वडा अध्यक्ष सुरेन्द्र केसी, नेपाली काँग्रेस पर्वतका उपसभापति डा. चुडामणी शर्मा, एमाले जिल्ला सदस्य मुगा पोख्रेल लगायत जनप्रतिनिधि, समाजसेवी र पत्रकारहरुको सहभागिता रहेको थियो । हस्तान्तरण कार्यक्रमको संचालन पत्रकार महासंघ पर्वतका सचिब साजन परियारले गरेका थिए । भण्डारीको यहि पुस १२ गते मृगौला परिवर्तनका लागि शल्यक्रिया हुदैछ ।

spot_img

भर्खरै