पर्वत, कुश्मा नगरपालिकाका नगर प्रमुख एवम् कांग्रेसका युवा नेता रामचन्द्र जोशीले विकास निर्माणमा सबै मिलेर काम गर्न आग्रह गर्नुभएको छ । आर्थरडाडाखर्क युवा क्लबले आयोजना गरेको तीन दिने मेलाको उद्घाटन गर्दै जोशीले विकास निर्माणमा एकताको भावना हुनुपर्नेमा जोड दिनुभयो । ‘राजनीति गर्ने भनेको चुनावको दिनमा मात्रै हो, विकास निर्माणमा सबै विचार, आस्थामा विश्वास गर्नेहरु एक भएर लाग्नुपर्दछ’ उहाँले भन्नुभयो ।
चुनावको दिन बाहिर पनि हुने राजनीतिले नै हाम्रो विकास निर्माणको काम पछाडी परेको टिप्पणी गर्दै जोशीले सबै एक भएर जनताले गर्ने विकास निर्माणलगायत परिवर्तनमा आफ्नो सधैं साथ रहने बताउनुभयो । नगरपालिकामा निर्वाचित भएदेखि नै आफुले कुनै स्वार्थ नराखी काम गर्दै आएको जोशीले बताउनुभयो । उहाँले आर्थरमा वडामा अपायकका कारण शहरी स्वास्थ्य केन्द्र सञ्चालनको अन्तिम तयारी रहेको र एक÷दुई बर्षभित्रै कुश्मासंग वडा कार्यालयसम्म पक्की सडक जोडिन लागेको जानकारी दिनुभयो ।
सडक कालोपत्रेपछि आर्थरडाडाखर्क शहरसंग प्रत्यक्ष जोडिने भएकोले गाउँमा उत्पादनमा जोड दिनुभयो । आर्थरडाडाखर्कबाट बसाई सरेर गएकाहरुलाई पनि गाउँ फर्कन आग्रह गर्दै नगर प्रमुख जोशीले आर्थरमा कोदो उत्पादन कार्यक्रमसमेत सुरु गरिएको जानकारी दिनुभयो । ‘नेपालमा कोदोसमेत बिदेशबाट निर्यात हुनेरहेछ, आर्थरमा कोदो राम्रो हुने भएकोले कोटो प्रबद्र्धन कार्यक्रम सञ्चालन गरिएको छ’ जोशीले भन्नुभयो ।
कार्यक्रममा कुश्मा नगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष रुद्रमोहन रिमालले वडामा भएका कार्यक्रम तथा विकास निर्माणको बारेमा जानकारी गराउनुभएको थियो । वडा अध्यक्ष रिमालले वडामा केही दिनभित्रै नयाँ भवनबाट सेवा सुचारु गर्ने तयारी गरिएको भन्दै सकेसम्म जनताले पाउने राहतमा लागिपरेको दाबी गर्नुभयो ।
आर्थरडाडाखर्क युवा क्लबका अध्यक्ष सुदिप शर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य छविलाल तिवारी, कुश्मा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख यामप्रसाद शर्मा, स्टोर प्रमुख बालकृष्ण शर्मा, कोषाध्यक्ष सन्तोष रुचाल लगायतले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन हिमलाल शर्माले गर्नुभएको थियो । मेलामा भलिबल, ठेलो फाल्ने लगायत प्रतियोगिता र सांस्कृतिक कार्यक्रम भइरहेको छ ।