पर्वत/जलजला गाउँपालिकामा वडा अध्यक्ष र कार्यपालिका सदस्यले नै प्रमुख प्रशासकिय अधिकृतमाथि आक्रमण प्रयास गरेपछि सेवा प्रवाह ठप्प भएको छ । गत मंगलबार वडा नम्वर २ का प्रकाशबहादुर घर्ती, वडा नम्बर ३ का एकिन्द्र खत्री, वडा नम्वर ४ का भरतबहादुर क्षेत्री र कार्यपालिका सदस्य भिमसेनबहादुर बिश्वकर्माले प्रमुख प्रशासकिय अधिकृतलाई आक्रमण प्रयास गरेपछि सेवा प्रवाह रोकिएको छ ।
उनीहरुले प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा बिहान १०ः३० मा प्रवेश गरी तोडफोड गर्दै अवाञ्छित क्रियाकलाप गरेको प्रमुख प्रशासकिय अधिकृत फणिन्द्रप्रसाद आचार्यले बताए । ‘त त्यो कुर्चीमा नबस, तुरुन्त बाहिर गइहाल’ जस्ता शब्द प्रयोग गरी तोडफोडमा उत्रिएपछि कर्मचारीको बैठकले समाधान नभएसम्म सेवा प्रवाह ठप्प पारेका छन् ।
गाउँपालिकामा अध्यक्ष राजु आचार्यसहितका पदाधिकारीले गाउँपालिकाको घटनालाई पालिकाभित्रै मिलाउने प्रयास गरेपनि तोडफोड गर्ने वडा अध्यक्षहरुले घटनालाई राजनीतिकरण गर्न खोजेपछि पालिकाका प्रवक्ता हरिविकास जिसीले बिहिबार विज्ञप्ती निकालेर आपत्ति जनाएका छन् । उनले पीडित कर्मचारीलाई न्याय दिलाउन गाउँपालिका प्रतिबद्ध रहेको र कर्मचारी पनि तत्काल सेवा प्रवाहमा खटिनका लागि जनभावना बुझि लाग्न अनुरोध गरेका छन् ।
प्रमुख प्रशासकिय अधिकृतलाई आक्रमणपछि जलजलामा सेवाप्रवाह ठप्प
