spot_img

पैयूँको नीति, कार्यक्रम र बजेट सर्वसम्मत पारित

पर्वत/पैयूँ गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ल्याएको नीति, कार्यक्रम र बजेट सर्वसम्मत पारित भएको छ । शुक्रबार पैयूँ ४ नम्वर वडा कार्यालय सभाहलमा आयोजित १४ औ गाउँसभाले नीति, कार्यक्रम र बजेट पारित गरेको हो । गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ४१ करोड दुई लाख ४० हजार आठ सय बराबरको बजेट ल्याएको छ । बजेटमा चालु खर्च ७६ दशमलब १४ प्रतिशत र पुँजीगत तर्फ २३ दशमलब ८६ प्रतिशत बिनियोजन गरिएको छ । चालु तर्फ ३१ करोड २३ लाख ६४ हजार आठ सय र पूँजीगत तर्फ नौ करोड ७८ लाख ७६ हजार बजेट बिनियोजन गरिएको छ ।
बजेटमा आयतर्फ समानीकरण अनुदान आठ करोड आठ लाख, सशर्त अनुदानतर्फ २१ करोड ५८ लाख ९५ हजार, समपूरक अनुदानतर्फ ६० लाख र राजश्व बाँडफाँड तर्फ छ करोड ५८ लाख ९९ हजार नौ सय ९९ रुपैयाँ रहेको छ । प्रदेश समानीकरण अनुदानतर्फ ९६ लाख ८२ हजार, विशेष अनुदानतर्फ ४० लाख, समपुरक अनुदानतर्फ ६० लाख र राजश्व बाँडफाँड तर्फ २९ लाख ३६ हजार रहेको छ । आन्तरिक आम्दानीतर्फ ५७ लाख ५० हजार र चालु वर्षमा रहने अनुमानित मौज्दाततर्फ एक करोड ३२ लाख ७७ हजार आठ सय एक रहेको छ ।
आधुनिक कृषि प्रविधि, पर्यटन र पुर्वाधार, पैंयुँवासीको समृद्धिको आधार भन्ने मुल मर्मका साथ सार्वजनिक गरिएको बजेटमा शिक्षा, कृषि, स्वास्थ्य, सडक लगायतका क्षेत्रलाई मुख्य प्राथमिकतामा राखिएको छ । आगामी वर्ष कृषितर्फ एक करोड १० लाख ६० हजार बिनियोजन गरिएको छ । स्वास्थ्य सेवाका लागि ७४ लाख ९७ हजार, शिक्षाका लागि एक करोड ९४ लाख २८ हजार, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका लागि १५ लाख ३० हजार बिनियोजन गरिएको छ । पुर्वाधार विकास तथा गाउँपालिका स्तरीय कार्यक्रमका लागि चार करोड सात लाख ३० हजार र वडा कार्यालय तर्फ तीन करोड १५ लाख बिनियोजन गरिएको छ ।
पैयुँ गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरी (राज)ले शैक्षिक गुणस्तर बृद्धि, स्वास्थ्यमा ध्यान दिदै कृषि उत्पादन र पशुपालनमा जोड दिनेगरी बजेट तथा कार्यक्रममा प्राथमिकता दिइएको बताए । ‘अवको कृषि उत्पादन निर्वाहमुखी होइन, ब्यावसायीकमुखी बनाउनुपर्छ भन्ने हाम्रो जोड छ’ उनले भने–‘सीमित स्रोतसाधनलाई उपभोग गरेर पालिकाबासीलाई धेरै लाभ दिने गरी कार्यक्रम बनाएका छौ ।’ उनले यसपटकको बजेटमा नीति कार्यक्रममा भएका कुरालाई पुरा गर्नेगरी बनाइएको पनि दाबी गरे ।
उनका अनुसार पालिकाभित्रका सात वटा वडामध्ये कुन वडामा कुन उत्पादनको बढी सम्भावना छ, सोहीअनुसार एक वडा एक पहिचान कार्यक्रम सञ्चालन गरिने भएको छ । रैथाने बालीको संरक्षण गर्ने, कोटोबाट उत्पादित स्थानीय मदिरालाई ब्राण्डिङ गरी बजारमा पठाउन पहल गर्ने पनि अध्यक्ष मल्लले नीति कार्यक्रममा समेटेका छन् । १४ औ गाउँसभामा आगामी आर्थिक बर्षका लागि नीति कार्यक्रम अध्यक्ष मल्ल र बजेट उपाध्यक्ष यामकुमारी रानाले प्रस्तुत गरेकी थिइन । उक्त नीति, कार्यक्रम र बजेट सर्वसम्मत रुपमा पारित भएको प्रमुख प्रशासकिय अधिकृत राजिव रिमालले जानकारी दिए ।

spot_img

भर्खरै