पर्वत/कुश्मा नगरपालिकाले आगामी आर्थिक बर्षको लागि ल्याएको नीति, कार्यक्रम र बजेट पारित गरेको छ । ११ औ नगर सभामा प्रस्तुत नीति, कार्यक्रम र बजेट सर्वसम्मत पारित भएको हो । सभामा नगर प्रमुख रामचन्द्र जोशीले नीति तथा कार्यक्रम र उपप्रमुख स्वस्थानी रिजालले बजेट प्रस्तुत गरेका थिए । कुश्मामा आर्थिक वर्ष २०८१÷०८२ को लागि कुल ९२ करोड १२ लाख ७२ हजार बजेट पारित भएको छ । विनियोजित रकममध्ये नगर सभाद्वारा बाँडफाँटयोग्य रकम ३९ करोड ४५ लाख मध्ये चालु खर्च तर्फ एकमुष्ट १५ करोड १६ लाख र पुँजीगत खर्चतर्फ वडागत योजना तथा कार्यक्रमका लागि पाँच करोड १५ लाख विनियोजन भएको छ ।
नगर स्तरीय पूर्वाधार कार्यक्रममा पाँच करोड ८० लाख, सामाजिक विकासतर्फ तीन करोड १४ लाख, आर्थिक विकास तर्फ एक करोड ३० लाख, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा एक करोड ३० लाख, संस्थागत विकास तथा सेवा प्रवाह सुशासन तर्फ एक करोड १० लाख, समपूरक कोषतर्फ १ करोड ५० लाख विनियोजन भएको छ । यस्तै चालु आर्थिक वर्षमा भुक्तानी दिन बाँकी योजना तथा कार्यक्रमका लागि पाँच करोड रुपैयाँ विनियोजन भएको छ ।
चालुतर्फ ५५ दशमलब ७७ प्रतिशत र पुँजीगततर्फ ४४ दशमलब २३ प्रतिशत विनियोजन भएको छ । संघीय सरकार र प्रदेश सरकारबाट हस्तान्तरित शसर्त, समपूरक र विशेष अनुदान तर्फका ५२ करोड ६७ लाख ७२ हजार बराबरका योजना तथा कार्यक्रमहरू तोकिए बमोजिम नै खर्च हुने छ ।
केरा पकेट विकास कार्यक्रम, कृषि पशुपन्छी तथा मत्स्य तथ्याङ्क अद्यावधिक कार्यक्रम, रैथाने वाली प्रवद्र्धन कार्यक्रम, किसान सूचीकरण, एक गाउँ एक प्राविधिक लगायतका कार्यक्रम सञ्चालन गर्ने ६० लाख ८८ हजार, नगर प्रमुखसँग उद्यमशीलता कार्यक्रमका लागि ३० लाख, नगरप्रमुख रोजगार कार्यक्रमका लागि १० लाख विनियोजन हुँदा युवा रोजगारीका लागि रूपान्तरण पहल परियोजनामा संघीय सरकारबाट ५८ लाख बजेट प्राप्त भएको छ ।
शिक्षाको विकासका लागि पूर्वाधार, शैक्षिक सुधार र शिक्षकहरूको तालिम, विद्यालय स्तरमा वार्षिक परीक्षा सञ्चालन, उत्कृष्ट अङ्क हासिल गर्ने शिक्षकहरूलाई सम्मान गर्ने कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन भएको छ ।
नगर प्रमुखसँग विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम र स्वर्णिम अवकाश योजना मार्फत अवकाश लिने शिक्षकलाई प्रोत्साहन गर्न ३० लाख बजेटको विनियोजन भएको छ । विद्यालयमा निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराउन १७ लाख ९४ हजार, विद्यार्थीलाई दिवा खाजाको लागि ७५ लाख ६८ हजार, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन तथा खेलकुदका लागि ३० लाख तथा सुत्केरीसँग उपप्रमुख कार्यक्रमलाई निरन्तरता दिन १२ लाख रुपैयाँ विनियोजन भएको छ ।
नगरको प्रशासनिक भवन निर्माण गर्नका लागि पाँच करोड, सबै वडाको सडक, सिँचाइ, खानेपानी पूर्वाधार निर्माणको लागि पाँच करोड १५ लाख, रणनीतिक महत्व बोकेका स्थानहरूमा झोलुङ्गे पुलको निर्माणका लागि १० लाख रुपैयाँ छुट्टाइएको छ । प्रकोप व्यवस्थापन कोषमा ५० लाख, मनसुनजन्य विपत् पश्चात् निर्माण गरिने आवासमा समपूरकका लागि ५० लाख, फोहर मैला व्यवस्थापनका लागि ३० लाख, न्यायिक समितिलाई प्रभावकारी बनाउन १५ लाख विनियोजन भएको छ ।
यो बजेटले आम नगरवासीको विकास प्रतिको उत्कृष्ट आंकाक्षालाई साकार पार्न, नगरको ऐतिहासिक सांस्कृतिक पर्यटकीय महत्वलाई सामाजिक न्याय, समानता, सामाजिक सद्भाव एवं बन्धुत्व विकास र समग्र नगरको विकास तथा समृद्धिको महत्वलाई थप उजागर गर्ने नगर प्रमुख रामचन्द्र जोशीले बताए ।
कुश्मामा ९२ करोड बजेटसहित नीति कार्यक्रम पारित


