काठमाडौँ —नेपाल राष्ट्र बैंकले खुकुलो नीति लिएसँगै करिब दुई वर्षपछि घरजग्गा कारोबारमा उच्च वृद्धि भएको छ । सरकारले ०७९ जेठ २३ मा भूउपयोग नियमावली जारी गरेसँगै सोही वर्षको साउनदेखि घरजग्गा कारोबार ओरालो लागेको थियो । ०७९ साउनमा ३३ हजार ८ सय ३४ घरजग्गा लिखत पास भएकामा दुई वर्ष पुग्नै लाग्दा गएको जेठ महिनामा यो संख्या झन्डै दोब्बर हुँदै ६१ हजार १ सय ६१ लिखत पास भएको छ ।
बीचमा कारोबार सबैभन्दा तल झर्दै २०८० असोजमा २५ हजार ७ सय ८९ र २०८१ कात्तिकमा २६ हजार ४६ मात्र घरजग्गा लिखत पास भएका थिए । जेठमा भएको घरजग्गा कारोबार वैशाखको तुलनामा समेत अत्यधिक वृद्धि हो । वैशाखको तुलनामा जेठमा २३ प्रतिशतले कारोबार बढेको देखिएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार जेठमा घरजग्गा कारोबार र राजस्व दुवै बढेको हो ।
जेठ पहिलो साता मौद्रिक नीतिको तेस्रो त्रैमासिकमार्फत राष्ट्र बैंकले लचिलो नीति लिएपछि सकारात्मक प्रभाव परेको छ । घर जग्गा खरिदमा ऋण भुक्तानी आम्दानी अनुपातलाई सहजीकरण गरी कर चुक्ता प्रमाण पेस गरेका आधारमा ७० प्रतिशत कायम गरिएको छ ।