spot_img

प्रथम देवी स्मृति कपको उपाधि युनाइटेड क्लब मर्दिखोलालाई

पर्वत/प्रथम देवी स्मृति कपको उपाधि युनाइटेड क्लब मर्दिखोलाले जितेको छ । हिले युवा क्लवले ल्होसारको अवसरमा पैयूँ ७ हिलेमा आयोजना गरेको भलिबल प्रतियोगिताको उपाधि ३–२ को सेटमा हिले युवा क्लबलाई हराउदै युनाइटेड क्लबले जितेको हो । सुरुमा दुई सेट आफ्नो पक्षमा पारेको हिलेले पछिल्ला दुई सेट गुमाउदै प्रतियोगिताको उपबिजेता बन्न पुगेको हो । प्रतियोगितामा तेस्रो न्यु क्षितिज युवा क्लब र सान्त्वना हिले युवा क्लबको दोस्रो टोली भएको थियो ।
प्रतियोगिताका प्रथम, द्धितिय, तृतीय र सान्त्वनालाई नगद क्रमशः ७० हजार, ४५ हजार, २५ हजार र १५ हजारका साथै मेडल र प्रमाणपत्र बितरण गरिएको थियो । प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै नेपाली काँग्रेस पर्वतका पूर्वसभापति नवराज गुरुङले स्थानीयस्तरमा हुने यस्ता प्रतियोगिताले खेलाडीहरुको प्रतिभा प्रस्फुटन हुने र देशमा नयाँ खेलाडीहरु उत्पादन हुने बताए ।
पैयूँ ७ हिलेमा जन्म भई पोर्चुगलमा बसाईका क्रममा निधन भएकी देवी गुरुङको सम्झनामा प्रथम देवी स्मृति कप आयोजना गरेकोमा परिवारजन र हिले युवा क्लबलाई गुरुङले धन्यबाद दिए । परिवारमा नारीको सम्मानले नै सबैको सम्मान हुने भन्दै उनले जुन घरमा नारीको सम्मान हुन्छ, त्यो घरमा सधै राम्रो हुने दाबी पनि गरे । उपस्थित भएका महिलाहरुप्रति लक्षित गर्दै गुरुङले महिलालाई हरेक क्षेत्रमा अगाडी बढ्नुपर्नेमा जोड दिए । उक्त कप तथा ल्होसार आयोजनाका निम्ति देवी गुरुङका बुवा धनबहादुर गुरुङ, दाजु अरुण गुरुङ, भाई जितेन गुरुङलगायत परिवारजन र विभिन्न संघसंस्था तथा सामाजिक राजनीतिक ब्यक्तिहरुले सहयोग गरेका थिए ।
समापन समारोहका अवसरमा नेपाली काँग्रेस गण्डकी प्रदेशका सदस्य एवम् जलजला गाउँपालिकाका निवर्तमान अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण), बिहादी गाउँपालिकाका अध्यक्ष एवम् नेपाली कांग्रेस प्रदेश ख पर्वतका सभापति परविन गुरुङ, पैयूँ गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरी (राज)लगायत विभिन्न राजनीतिक तथा सामाजिक ब्यक्तिहरुका साथै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको उपस्थिति रहेको थियो । हिले युवा क्लबका अध्यक्ष अनिल गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन रविन गुरुङले गरेका थिए ।

spot_img

भर्खरै