spot_img

‘सहकारीहरु उद्देश्य र मर्मअनुसार चल्नुपर्छ‘

पर्वत, १० पुस । कुश्मास्थित अन्नपूर्ण बहुउद्देश्यीय सहकारी संस्थाले पाँचौ साधारणसभा सम्पन्न गरेको छ । आर्थिक बर्ष ०७५÷०७६ सालमा स्थापना भई सञ्चालनमा आएको सहकारीले सोमबार आफ्नो बार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न गरेको हो । साधारणसभाको उद्घाटन गर्दै फलेबास नगरपालिकाका नगर प्रमुख गंगाधर तिवारीले सहकारीहरुले आफ्नो उद्देश्य र मर्मअनुसार अगाडी नबढ्दा अहिले समस्या आएको बताए ।
बढी ब्याज दिने लोभमा जतिपनि बचत संकलन गर्ने र त्यसलाई जथाभावी नियम कानुनको धज्जी उडाउदै लगानीमा लगाउनाले सहकारीहरु समस्याग्रस्त हुन थालेको उनको भनाई थियो । उद्देश्य र मर्मअनुसार सही रुपमा सञ्चालन नगरी सहकारी ऐन बिपरित जथाभावी नगरी सहकारीको भावनालाई आत्मसात गर्न उनले आग्रह गरेका थिए । सहकारीका अध्यक्ष राधाकुमारी कुँवर क्षेत्रीले अहिले विभिन्न सहकारीहरु समस्याग्रस्त भएको सार्वजनिक भएपनि अन्नपूर्ण सहकारीले बचत फिर्ता गर्न नसक्ने अवस्था नरहेको र बचतकर्ताको रकम कार्यालयमै बोलाएर फिर्ता गरिएको बताइन । ‘हाम्रो सहकारी लयमै छ, लगानीको रकम उठ्न थोरै ढिलाई भइरहेको मात्रै हो’ उनले भनिन् ।
क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा कुश्मा नगरपालिकाका शिक्षा अधिकृत दिपक सुवेदी, सहकारीका उपाध्यक्ष नारायणप्रसाद शर्मा, सचिव टंकलाल भुसाल, कोषाध्यक्ष गोबिन्द पोखरेललगायतले बोलेका थिए । अधिवेशनले पुनः राधाकुमार कुँवर क्षेत्रीलाई नै दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । उपाध्यक्षमा नारायणप्रसाद शर्मा, सचिवमा टंकलाल भुसाल, कोषाध्यक्षमा संगिता चापागाई, सदस्य केशव पंगाली, विश्वनाथ गौडेल, गोबिन्द पोखरेल, अमृता गिरी पुरी, सरिता पौडेल रेग्मी, लोकबहादुर खड्का, लेखा समिति संयोजकमा प्रकाश शर्मा भुसाल र सदस्यमा रविन शर्मा, टेकप्रसाद भुसाल रहेका छन् ।

spot_img

भर्खरै