spot_img

बिहादीमा औद्योगिक ग्राम बन्ने भएपछि स्थानीय हर्षित

पर्वत । सरकारले प्रत्येक स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्ने महत्वाकांक्षी कार्यक्रम घोषणा गरेको करिव ४ बर्ष हुनलाग्दा समेत पर्वतका स्थानीय तहमा निर्माण कार्यले गति लिन सकेको छैन । जिल्लाका कतिपय पालिकामा विस्तुत परियोजना प्रतिवेदन (डिपिआर) समेत तयार नभएको अवस्था छ भने अन्य पालिका मापदण्डअनुसारको जग्गा एकै ठाउँमा उपलब्ध नहुँदा उपयुक्त जग्गाको खोजीमा छन् । पर्वतका स्थानीय तह मध्ये बिहादी गाउँपालिकाले औद्योगिक ग्राम निर्माणको काम थालेको छ । संङ्घीय सरकार र प्रदेश सरकारको नीति अनुसार ‘एक स्थानीय तह,एक औद्योगिक ग्राम’ लागू भएसँगै निर्माण कार्य थालेको विहादीले भवन लगायतका भौतिक संरचना निर्माण गरिसकेको छ ।
बराचौरको तिलाहारे चौरको ८२ रोपनी जग्गामा निर्माण हुन लागेको औद्योगिक ग्रामको गाउँपालिकाले गत आर्थिक बर्ष २०७७/०७८ मा १ करोड २८ लाख ९४ हजारमा टेण्डर खुलाएको थियो । उक्त औद्योगिक ग्राम निर्माणका लागि एवन खप्तड कन्ट्रक्सन एण्ड अडर सप्लायर्स कम्पनीले ८५ लाख ४६ हजारमा निर्माण कार्य थालेको हो । कम्पनीले हालसम्म भवन सहित शौचालय (महिला÷पुरुष) निर्माण गरिसकेको छ । पालिकाको डिपिआर अनुसार रोड, कटिङ पार्ट, अपिस, विल्डीङ, गार्ड हाउस, हेल्थपोष्ट, क्याटिङ, लोडअनलोड गर्ने ठाउँ, पार्किङ र ल्याड स्कोप जस्ता संरचना बनाउन बाँकी रहेको गाउँपालिका अ. सव इन्जिनियर राजकुमार श्रेष्ठले जानकारी दिए ।
अहिले औद्योगिक ग्रामको निर्माण कार्य तीव्ररुपमा अगाढि बढिरहेको बराचौरका वडा अध्यक्ष गणेश शर्मा पौडेलले जानकारी दिए । ‘अहिले हल (भवन) बनाउने काम सकियो, अब अन्य काम हुने चरणमा छन् , उनले भने ।,’ औद्योगिक ग्राम बनेपछि बिहादी गाउँपालिकाको मुहार फेरिनेमा वडा अध्यक्ष पौडेल ढुक्क छन् । औद्योगिक ग्राममा साना तथा मझौला उद्योग रहनेछन् । स्थानीय स्तरमा पाइने कच्चा पदार्थ, कृषि, दुग्ध पदार्थ, वन पैदावार, जडीबुटी, खानी, खनिज आदिमा आधारित उद्योग खोल्न सकिने व्यवस्था छ ।
गाउँपालिकाका अध्यक्ष परविन गुरुङले औद्योगिक ग्रामको भौतिक संरचना निर्माण भैसकेको र बाँकी काम दशै लगत्तै शुरु हुने जानकारी दिए । गाउँपालिकाले कृषि र पशुजन्य, फर्निचर लगायतका विभिन्न उद्योग सञ्चालन गर्ने तयारी रहेको अध्यक्ष गुरुङको भनाई छ । जिल्लामा पहिलोपटक विहादीमा स्थापना हुन लागेको उक्त ग्रामलाई महिला तथा कृषि क्षेत्रलाई केन्द्रित गरी सञ्चालन गरिने छ । “स्थानीय उत्पादन र कच्चा पदार्थको प्रयोगमा जोड दिइने उक्त योजनाले महिला उद्यमशीलता विकास र आर्थिक सशक्तीकरणका लागि सहयोग पुग्ने अपेक्षा गरेका छौँ”, अध्यक्ष गुरुङले भने । सम्झौतामा औद्योगिक ग्राम स्थापनाका लागि पालिकाले आवश्यक सहजीकरण गरिदिने, आवश्यकतानुसार यसको विकास, सञ्चालन र व्यवस्थापनमा सहयोग गर्ने र ग्राम क्षेत्रभित्रको जग्गामा उद्योग स्थापनार्थ सहयोग गर्ने उल्लेख छ । यस्तै औद्योगिक ग्रामका कारण आसपासको वातावरण, मानव जीवन तथा भौतिक विकास र निर्माणकार्यमा असर पर्न दिइने छैन भने औद्योगिक ग्राममा सिर्जना हुने रोजगारीका अवसरमा स्थानीयलाई प्राथमिकता दिइने छ । स्थानीय साधन, स्रोतको उपयोगसँगै रोजगारी सिर्जना र आर्थिक समृद्धिमा औद्योगिक ग्रामले टेवा पुग्ने उनको भनाई छ । गुरुङले भने,‘औद्योगिक ग्राम विहादीको चाहाना र आवश्यकता हो, यो निर्माणपछि व्यवसायीक वातावरण बन्ने छ । युवाहरुलाई व्यवसायमा आकर्षित गरेर गाउँमै रोजगारी सिर्जनाको वातावरण बनाउने लक्ष्य छ ।,’ औद्योगिक ग्राम निर्माणका लागि बजेटको अभाव नहुने बताउँदै त्यसका लागि संघिय सरकार र प्रदेश सरकार सँग माग गरिने छ । कृषि, पशुपालन, र वनजन्य उत्पादनका हिसाबले अग्रणी मानिने बिहादीमा औद्योगिक ग्राम बन्ने भएपछि गाउँले उत्साहित छन् ।
औद्योगिक ग्रामको अनुगमन ।।
बिहादीमा बन्न लागेको औद्योगिक ग्रामको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेश सचिव कुमान सिंह गुरुङ लगायतको टोलीले निर्माण कार्यको अनुगमन तथा निरीक्षण गरेका छन् । सचिव गुरुङले औद्योगिक ग्रामको निर्माण कार्यलाई तिव्र रुपमा अगाढि बढाउँदै निर्माण कार्यलाई व्यवस्थित र चाडैँ सक्ने गरी काम गर्न आग्रह गर्नुभयो । उहाँले औद्योगिक ग्राम निर्माण गर्दा बजेट अभाव हुन नदिने बताउँदै त्यसका लागि प्रदेश सरकारले गृहकार्य गरेको बताउनु भयो ।

spot_img

भर्खरै