पर्वत/गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रविधिको दुरुपयोग बढेकोमा चिन्ता ब्यक्त गरेका छन् । कुश्मा–१४ को वडा कार्यालय भवन शिलन्यास तथा पञ्चकोशी माविको चार कोठे भवनको उद्घाटन गर्न आर्थर पुगेका मुख्यमन्त्री पाण्डेले प्रविधिको चरम दुरुपयोग गरी समाजमा हिंसा भड्काउने प्रयत्न भएको बताए ।
पछिल्लो समय प्रविधिको तिव्र विकास भएको तर दुरुपयोग उत्तिकै बढेकोमा मुख्यमन्त्री पाण्डेले चिन्ता ब्यक्त गरे । ‘प्रविधिको ठुलो विकास भएको छ । प्रत्येकको हातहातमा मोबाइल छ, सामाजिक सञ्जाल प्रयोग गरिरहनुभएको छ । तर त्यसको दुरुपयोग उत्तिकैछ’ उनले भने–‘एकताबद्ध भएर बसेको समाजलाई खल्बलाउने प्रयास भएको छ । भाषाको नाममा द्धन्द्ध बढाउने प्रयत्न भएको छ । धर्मको नाममा द्धन्द्ध बढाउने प्रयत्न भएको छ । जातको नाममा द्धन्द्ध बढाउने प्रयत्न भएको छ ।’
उनले सानो विविधतायुक्त हिमाल, पहाड र तराईलाई भौगोलिक रुपमा खेलेर द्धन्द्ध निम्त्याउने प्रयास चिन्ताजनक भएको दाबी गरे । ‘नेपाली नेपालीबिचको सद्भाव खल्बलाएर स्वार्थ पुर्ति गर्न चाहने तत्वहरु अगाडी बढेका छन् । यसलाई पनि हामीले होसियारी पूर्वक चिन्नुपर्ने बेला आएको छ’ मुख्यमन्त्री पाण्डेले भने । युवापुस्तालाई बहकाउने, उचाल्ने, गलत कुरालाई सही बनाउने चालबाजी सबैभन्दा खतरनाक भएको मुख्यमन्त्रीको दाबी थियो । ‘प्रविधिको माध्यमबाट सामाजिक सद्भागलाई खल्बलाएर मुलुकलाई अराजकतातिर धकेल्ने काम खतरनाक छ’ उनले भने–‘अन्त्यमा हामीले अहिलेसम्म प्राप्त गरेको परिवर्तनलाई उल्ट्याउने षडयन्त्र हो ।’
केही तत्व मुलुकमा अराजकता मच्चाएर स्वार्थसिद्ध गर्न लागेको उनको आरोप थियो । ‘आर्थिक प्रगतिको कुरै छाडौ यहा पुनः द्धन्द्ध निम्ताउन लागिएको छ, काट्दिन्छु र आगो लगाइदिन्छु भन्नेको पछाडी मान्छे लाग्न थालेपछि, स्यावास भन्दै मान्छे पछाडी दौडिन थालेपछि, अमेरिकामा बसेर सिंहदरबार जलाउछु भन्नेलाई प्रोत्साहित गरेपछि, युरोपमा बसेर ठीक गरिस् खुकुरी अल्ली भुत्ले भएर सज्याएर लैजानपथ्र्यो भन्नथालेपछि यो मुलुकको भविष्य के हुन्छ ? उनले प्रश्न गर्दै भने ।
उनले नेपालमा केही पनि भएन भन्ने गलत कुरालाई लाद्न खोजिदैआएको पनि गुनासो गरे । जसले नेपालमा केही गरेको छैन उसैले झन ठुलो स्वरमा केही पनि भएन भनेको उनको भनाई थियो । ‘केही पनि भएन, केही पनि गरिएन, त्यो कसले भनिरहेको छ भने जसले केही पनि गरेको छैन । जसले आफ्नो लागि जिवन बिदेशमा बितायो, ब्यक्तिगत प्रगतिका लागि र आफुलाई बिदेशमा बसेर पैसा पुगिसकेपछि स्वदेश आउछ अनि पहिलाकाले केही पनि गरेन भन्छ’ मुख्यमन्त्री पाण्डेले थपे–‘धेरैले आफ्नो गाउँठाउँको विकासको लागि यही जिवन बिताए, चाहेको भए उनीहरुले पनि बिदेश जान सक्थे । आज उनको इज्जत भन्दा अमेरिकामा बसेर गाली गर्नेको इज्जत ठुलो छ ।’
नेपालको सम्पत्ति बिदेशमा लैजाने अनि त्यही मानसिकतामा बसेर अर्तिबुद्धि दिने कुरा गलत भएको उनले बताए । उनले आर्थरमा जन्मेर, हुर्केर बाहिर रहेकालाई पनि थोरैभएपनि आफ्नो जन्मगाउँको विकासमा लगाउन आग्रह गरे । आफ्नो गाउँले गरेको लगानी भुल्ने अनि बिदेशमा गएर जो यही बसेर केही गर्नुपर्छ भनेर लागेको छ उसलाई गाली गर्ने प्रबृत्ति बढेकोमा उनले असन्तुष्टि जनाए ।
कुश्मा नगरपालिका वडा नम्बर १४ मा रहेको पञ्चकोशी माविमा पुर्ननिर्माण कार्यालयमार्फत ७० लाखको लागतमा चार कोठे भवन निर्माण भएको हो । त्यस्तैगरी शिलन्यास गरिएको वडा कार्यालय भवन दुई करोड ५० लाख लगानीमा निर्माण हुन लागेको हो । गण्डकी प्रदेश सरकार र कुश्मा नगरपालिकाको साझेदारीमा निर्माण हुने भवन सुविधासम्पन्न हुने वडा अध्यक्ष रुद्रमोहन रिमालले जानकारी दिए ।
रिमालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका पूर्वकेन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य अर्जुनप्रसाद जोशी, प्रदेशसभा सदस्य रेखा गुरुङ, नेपाली काँग्रेस गण्डकी प्रदेश सदस्य यामबहादुर मल्ल (रामकृष्ण), आर्थिक मामिला मन्त्रालयका सचिव बिष्णुप्रसाद शर्मा, प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद आचार्य, नेपाली काँग्रेस पर्वतका उपसभापति शिवप्रसाद सुवेदी, नेकपा माओबादी केन्द्रका शंकर गिरी, बिद्यालय ब्यवस्थापन समितिका पूर्वअध्यक्ष दुर्गाप्रसाद शर्मा, प्रअ प्रकाश सापकोटालगायतले बोलेका थिए ।