पर्वत–मोटरसाइकल, स्कुटर ठाउँ–ठाउँमा हिलोमा गड्छन् । ट्याक्सीसहित साना सवारी हिलाम्य तालमा डुबेर पार गर्नै मुस्किल हुन्छ । ठुला सवारी उफ्रदै हम्मेहम्मे चल्न बाध्य छन् । सडकको किनारामा पैदल हिँडेका सर्वसाधारण सवारीले छेपेर हिलैहिलो भएका देखिन्छन् । यो दुदर्शासुनौली–कोरला सडक अन्र्तगतको मालढुंगा–बेनी सडकको हो ।
हो साढे दुई बर्षअघि सम्झौता गरेको निर्माण कम्पनीले समयमा काम नगर्ने र निर्माणका क्रममा भएका खाडल नपुरी दिँदा अहिले मालढुंगा–बेनी सडकको हालत निकै खराव भएको छ । ठाउँठाउँमा भएका ठुल्ठुला खाडलमा बर्षातको पानी भरिदा यात्रा निकै कष्टकर बन्ने गरेको छ । म्याग्दी र मुस्ताङका साथै पर्वतको जलजला गाउँपालिका प्रवेश गर्ने मुल सडक भएपनि सरकारी निकायले निगरानी र निर्माण कम्पनीसंग पहल नगरिदिदा त्यसक्षेत्रको आवतजावत गर्ने यात्रुको निकै जोखिमपूर्ण यात्रा हुने गरेको छ । यो सडक स्तरोन्नतीका लागि २०७७ चैतमा एपेक्स–खड्का–कृष्ण जेभीले ५२ करोड ८६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।
साना ठुला गरी दैनिक हजारको संख्यामा सवारी आवतजावत गर्ने यो सडकमा लामो समयदेखि यात्रु तथा सर्वसाधारणको गुनासो आएपनि पर्वत प्रशासन र कालीगण्डकी करिडोर कार्यालय जोमसोमले वेवास्ता गर्दै आएका छन् । विभिन्न कारणले समयमा आवश्यक काम सम्पन्न नभएपनि सडकमा अहिले सवारीसाधनले पाएको कष्टकर यात्रालाई सहज बनाउनेतर्फ ध्यान नदिएको यात्रुहरुको गुनासो रहेको छ । जलजला–८ का हरेमबहादुर खत्रीले निर्माण ब्यवसायीको काम सन्तोषजनक नै रहेपनि ठुलाठुला खाडलमा पानी भरिदा सवारीले दुःख पाएको बताए । ‘यी खाडल पुर्ने काम निर्माण कम्पनीले भन्दा पनि कालीगण्डकी करिडोर कार्यालयले ध्यान दिनुपर्छ’ उनले भने ।
जिल्लाको प्रमुख सडक अन्तर्गत पर्ने मालढुंगा बेनी सडकको बेहाल अवस्था भएको महिनौ हुँदा पनि पर्वत प्रशासन भने निदाएर बसेको छ । जिल्लामा भएका जनजिविकाको साथै जनसरोकारका बिषयका मुद्दामा केन्द्रित भएर समस्या समाधान गर्न लाग्ने जिम्मेबारी लिएको जिल्ला प्रशासनले नागरिकता र राहदानी बितरणमा सीमित भएको आरोप लाग्ने गरेको छ । यसअघि पर्वतमा उपसचिव सरहको प्रजिअ आउदा टकलाकदेखि बासखर्कसम्म हुने गरेका घटनामा पुग्ने गरेको भएपनि हाल आएका सहसचिव प्रेमप्रसाद आचार्य कार्यालयबाट बाहिर निस्कने नगरेको गुनासो आउने गरेको छ । ‘पर्वतमा कतै पहिरोले नागरिक घरमा रात बिताउन पाएका छैनन्, सडकको अवस्था बिजोग छ, यस्तो अवस्थामा पर्वत प्रशासनले समस्या समाधान गर्न अगुवाई गर्नुपर्दैन’ एक सामाजिक अगुवाले भने ।
उता कालीगण्डकी करिडोर कार्यालय जोमसोमका प्रमुख जगत प्रजापतिले निर्माण कम्पनीलाई थप स्रोत ब्यवस्थापन गरेर खाडल पुरेर पानी जमेको हटाउन लगाई हाल्ने बताए । ‘पहिला पनि समस्या भएको गुनासो आएर ब्यवस्थापन मिलाएका थियौ, हामी तत्काल अहिलेको समस्या हटाउन लाग्छौ’ उनले भने–‘खाडल हटाउनका लागि निर्माण कम्पनीलाई कुनै बजेट मिलाएर लगाउछौ ।’ उनले हालसम्म मालढुंगा बेनी सडकको ४० प्रतिशतमाथि काम सम्पन्न भएको बताए । उनकाअनुसार ०८० पुससम्म म्याद थप भएको छ । ‘सायद यतिबेला सडक निर्माणको अन्तिम अवस्थामा पुग्थ्योहोला, ढुंगा, गिट्टी, बालुवा अभावले ढिला भएको हो’ प्रजापतिले भने । पर्वतको कुश्मा नगरपालिका–१ मा पर्ने मालढुंगाबाट जलजला गाउँपालिकाको ८, ७, ४ र ३ नम्बर वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने यो सडकमा ठेकेदारले कालीगण्डकीबाट आवश्यक सामाग्री निकाल्न नपाएपछि विभिन्न बहाना बनाउदै आएको छ ।
जलजला गाउँपालिकाले सर्वोच्च अदालतमा पत्राचार गर्दै राष्ट्रिय गौरवको आयोजना नै बन्द हुने अवस्था भएकाले आयोजनाका लागि मात्रै भए पनि उत्खननको अनमुति दिन र मुद्दालाई छिटो किनारा लगाउन पत्राचार गरेपनि अदालतबाट आदेश प्राप्त भएको छैन । सर्वोच्च अदालतको २०७८ असार २९ गतेको आदेशअनुसार कालीगण्डकीबाट नदीजन्य पदार्थ उत्खननमा रोक लागेको छ । उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक आयोजना अन्र्तगत मालढुंगा–बेनी सडक १३ किलोमिटर दूरी रहेको छ । आजको शुभ सन्देश साप्ताहिकमा समाचार छ ।
पर्वतका सिडिओलाई कुर्ची छाड्नै गाह्रो्, ‘यो दुर्दशा कसले देख्ने ?’
