पर्वत–कुवापानीको पहाडबाट खसेको पहिरोले जलजलामा भयावह अवस्था निम्त्याएको छ । जलजला–५ कुवापानीबाट खसेको पहिरोले जलजला–२ पूर्णगाउँ, मुलघडेरी, नेपानेका सात वटा घर बिस्थापित भएका हुन । त्यहाँको झण्डै ८५ रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । असार दोस्रो सातादेखि पानी परेको समयमा आउने पहिरोले हालसम्म सात वटा घरपरिवार बिस्थापित भएको जलजला २ का निवर्तमान वडा अध्यक्ष गोबिन्द खत्रीले बताए ।
‘पानी पर्दासाथ पहिरो खस्ने समस्या छ, अहिले सात वटा परिवारले बस्दै आएको घर छाडेर अन्यत्र बिस्थापित हुनुभएको छ’ खत्रीले भने । उनका अनुसार नगेन्द्र कार्की, पदम कार्की, रविन पुन, डम्बर खत्री, लालबहादुर जिसी, रेशमबहादुर काकी र डेकबादुर कार्की गरी सात वटा घर जोखिममा रहेका छन् । दुई वटा परिवार काठमाडौ बस्न थालेपनि अहिले पाँच वटा परिवार बिचल्लीजस्तै अवस्था रहेको उनले जानकारी दिए । पाँच परिवार अहिले स्थानीय सामुदायिक भवन र आफन्तको घरमा शरण लिन बाध्य छन् । माथिको पहाड चिरा–चिरा परेर बसेका कारण पानी परेको समयमा त्यसक्षेत्रका बस्ती निकै खतरामा परेका छन् ।
कुवापानीको जङ्गलबाट आएको पहिरोसहितको बाढीले आफ्नो मात्रै झण्डै ५० रोपनी बढी जमिन बगर बनेको पहिरोबाट बिस्थापित पदम कार्कीले बताए । ‘पानी नपर्दाको समयमा आफ्नो घरमा खाना पकाएर खाएपनि रात बिताउन हामीहरु नवजागरण महिला आमा समुहको सामुदायिक भवनमा जाने गरेका छौ’ उनले भने । पहिरोले गर्दा खेतबारीमा लगाएको मकै, सिमी, कोदो, धान नष्ट गरेको छ ।
‘अन्नबाली लगाएको ठाउँ बगरमा परिणत भएको छ’ पहिरोले पु¥याएको क्षति देखाउदै कार्कीले भने–‘किसानले गरेको दुःख नष्ट त भयो नै अव के खाने, कहाँ गएर बस्ने ?’ पहिरो जान सुरु भएदेखि हालसम्म प्रदेशका मन्त्रीसम्म आएर अवलोकन गरेर फर्केपनि हालसम्म पहिरो रोक्न, बिस्थापित भएकाको बासस्थानको उपयुक्त प्रबन्ध हुन नसकेको डम्बर खत्रीले गुनासो गरे । ‘नेतादेखि मन्त्रीसम्म आएर फर्किनुभयो तर हाम्रो समस्या समाधान गर्ने ठोस योजना बनाउन सक्नुभएको छैन’ उनले भने–‘आकाशबाट पानी पर्ने बित्तिकै लेदो सहितको बाढी आउँछ, अनि भागाभाग हुन्छ ।’
पहिरोले पुर्णगाउँमा रहेको बराहताल पूर्ण रुपमा लेदोले पुरेको छ । त्यहाँ रहेका कार्की र धर्तीका दुई वटा मन्दिरमा क्षति पु¥याएको छ । त्यसैगरी मल्लाज हुँदै मालगाउँबाट म्याग्दीको नागीजाने सडक पुर्ण रुपमा क्षति पु¥याएको छ । सडकको ठाउँठाउँमा ठुलाठुला खाडल बनेपछि उक्त सडकमा सवारीसाधन ठप्प भएको छ ।
जलजला गाउँपालिकाका निवर्तमान अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) ले मानवीय क्षति नभएपनि पहिरोले ठुलो भौतिक क्षति भएको बताए । पहिरोले जलजलाको दुई वटा वडाको बस्तीलाई ठुलो क्षति पु¥याउने देखिएकोले दीर्घकालीन रुपमा बस्ती, खेतीयोग्य जमिन, बराह ताल, जिसी र कार्कीको कुल मन्दिर, दुई वटा वडाको ठुलो बस्ती जोगाउन गुरुयोजनाका साथ तीन वटै सरकार जुट्न आवश्यक देखिएको बताए ।
आफ्नो पहलमा भु तथा जलाधार ब्यवस्थापन कार्यालय र पूर्वाधार विकास कार्यालयको स्टीमेटअनुसार प्रदेश सरकारले तत्काल केही बजेट बिनियोजन गरेर संरक्षण तथा पहिरो नियन्त्रणको काम अगाडी बढ्ने पनि उनले जानकारी दिए । मल्ल दुई कार्यालयका प्राविधिकसहितको टोली लिएर मंगलबार पहिरो र त्यसले पु¥याएको क्षतिको निरिक्षण गरेका थिए ।
भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतका प्रमुख दिवाकर पौडेलले चर्किएको पहाडको डिललाई तत्काल व्यवस्थापन र संरक्षण गर्न सम्भव नरहेको बताए । उनले बाढी पहिरोबाट बस्ती, खेतीयोग्य जमिनमा थप क्षति हुन नदिन व्यक्तिको जग्गालाई मुआब्जा दिएर बाढी नियन्त्रण र संरक्षणको काम गर्नुपर्ने देखिएको पनि धारणा राखे । ‘कुवापानीको पहिरोलाई केही गर्न सकिँदैन, भूगर्वविद लिएर अध्ययन गर्नुपर्छ, एकसय मिटर चौडाइमा पहाड फाटेको छ, पानी पर्ने बित्तिकै जमिन बग्न थाल्छ’ उनले भने–‘अहिले तत्कालको काम भनेकै बिस्थापित भएकाको ब्यवस्थापन, पहिरोबाट थप क्षति हुन नदिन संरक्षण, पुरिएको बराह तालको माटो फाल्ने र सडक स्तरोन्नति गर्ने नै हुन ।’


