पर्वत–बलेवा बिमानस्थललाई सहज रुपमा सञ्चालन हुने वाताबरण बनाइदिन बलेवाबासीले मुख्यमन्त्री समक्ष माग गरेका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसमक्ष स्थानीयले बिमानस्थल चल्ने दिन कुर्दाकुर्दै आँखा पाटिएको गुनासो गरेका हुन । मुख्यमन्त्री पाण्डेलाई बिमानस्थल क्षेत्रको अवलोकन गराउँदै स्थानीयले अव पनि जहाज नचल्ने बिमानस्थल हेरेर बस्न नसकिने बताए । बिमानस्थल सञ्चालन नहुने हो भने सहज रुपमा गौचरण गर्नका लागि छाडि दिन पनि उनीहरुको माग थियो ।
‘जहाज चल्ने दिन कुर्दा हाम्रा आँखा पाटिएका छन्, कि जहाज नियमित चल्ने वातावरण बनाउन पहल गरिदिनु, कि हामीले पहिलेदेखि गाईगोरु चराउँदै आएको ठाउँमा सहज गौचरण गर्न छाडिदिनु’ स्थानीय राजु सुवेदीले मुख्यमन्त्री पाण्डेलाई भने । मुख्यमन्त्रीसमक्ष धेरै स्थानीयले बिमानस्थल नियमित चल्ने वातावरण नबन्दा बलेवाक्षेत्र ओझेलमा परेको गुनासो गरेका थिए । बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ, प्रदेशसभा सदस्य डिल्लीराम सुवेदीले पनि बलेवा बिमानस्थल नियमित सञ्चालन हुने ब्यवस्थाका लागि गण्डकी प्रदेश सरकारको विशेष पहल आवश्यक भएको मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराए ।
मुख्यमन्त्री पाण्डेले बन्द बिमानस्थल सञ्चालनका निम्ति गण्डकी प्रदेश सरकारले अहिले बोलेर मात्रै नहुने तर आफुले विशेष ध्यान दिएर पहल गर्ने आश्वासन दिए । ‘यो बिमानस्थल सञ्चालनका लागि प्रदेश सरकारको पहल रहन्छ नै तर हामीले बोलेर मात्रै हुँदै विशेष ध्यान दिएर पहल गर्छौ’ पाण्डेले भने । पाण्डेले बिमानस्थलको धावनमार्ग, टावरलगायतको अवलोकन गरेका थिए । यो बिमानस्थलको धावनमार्ग आर्थिक बर्ष ०७८÷०७९ मा कालोपत्रेसमेत भएको थियो । यसअघि कच्ची धावनमार्गका कारण जहाज अवतरण जोखिमयुक्त रहेपनि कालोपत्रेपछि सहज रुपमा बिमानस्थल सञ्चालन हुने स्थानीयको आशा रहेको थियो । धावनमार्ग कालोपत्रे भएको डेढ बर्षसम्म पनि जहाज नआएपछि स्थानीयबासी निराश भएका हुन ।
विशेष गरी यो बिमानस्थल २०४८ सालसम्म नियमित रुपमा सञ्चालन हुँदै आएको थियो । पोखरा–बागलुङ सडक खुलेपछि यात्रु कम हुँदै गएपछि जहाज आउन छाडेका हुन । पर्वतको कुश्मासंगै जोडिएको बलेवा बिमानस्थलमा कुश्मा र फलेबासका धेरै स्थानीयले प्रयोग गर्थे । तर पोखरासम्म सडक खुलेपछि बलेवा पुग्न कालीगण्डकी पार गरेर जाँदा बलेवा र पोखरा समय उस्तै लाग्ने हुँदा बलेवाबाट जहाज चढ्ने कम हुँदै गएका हुन । अहिले भने यान्त्रिक पुल, अग्ला पुल, बञ्जी पुल लगायतबाट बलेवा बिमानस्थल पुग्न सहज भएको छ ।
यो बिमानस्थल सञ्चालनका लागि धेरै पटक पर्यटन तथा नागरिक उड्डयन मन्त्रीहरु जहाज लिएरै आएर अवलोकन गरेर पनि गएका छन् । तर पनि बिमानस्थल नियमित सञ्चालन छैन । बागलुङ नगरपालिकाका निबर्तमान नगर प्रमुख जनकराज पौडेलले यसअघि आफ्नो कार्यकालमा दुई बिमान कम्पनीसंग सम्झौता गरेर सातामा दुई वटा जहाज आउने ब्यवस्था मिलाएका थिए । तर यात्रु नभएका जहाजको सिटको पैसा नगरपालिकाले ब्यहोर्न नसक्ने भएपछि ती जहाज पनि आउन छाडेका हुन ।
बिमानस्थल सञ्चालन भए बलेवा क्षेत्रका भैरबस्थान, मुलावारी, पर्वतको जलजला जस्ता धार्मिक तथा पर्यटकीय क्षेत्रमा पर्यटन प्रर्बद्धन गर्न सहज हुने तथा अहिलेसम्म पोखराबाट मुस्ताङसम्मको हवाईसेवा मौसमका कारण अबरुद्ध हुने गरेकाले बलेवाबाट मुक्तिनाथ र मुस्ताङ पुग्ने विकल्प रहेको बागलुङ र पर्वतका पर्यटन ब्यवसायी बताउँछन् । बलेवा विमानस्थलको उडान क्षेत्रमा पवित्र कालीगण्डकी नदी, पर्वतको हम्पाल कालाञ्जरक्षेत्र, बागलुङको कालिका भगवती, म्याग्दीको गलेश्वर धाम, धौलागिरि हिमाल, मुस्ताङको मुक्तिनाथ मन्दिरलगायतका प्राकृतिक, धार्मिक तथा ऐतिहासिकस्थल रहेका छन् ।
बिमानस्थल बन्द हुनुअघि २०४८ सम्म बलेवाबाट काठमाण्डौ, पोखरा, भैरहवा र जोमसोम लगायतका ठाउँहरुमा उडान हुदै आएको थियो । लामो समयसम्म वन्द भएपछि विमानस्थल गौचरण र युबाहरुको खेल मैदान बनेको थियो । तर पछि बिमानस्थल तारबारसहित मर्मत गरेर धावनमार्गसमेत कालोपत्रे गरिएको छ । १९ रोपनी जग्गामा फैलिएको यो बिमानस्थलमा तीन वटा भवनहरु समेत अहिले प्रयोगविहीन भएका छन् । आजको शुभ सन्देश साप्ताहिकमा खबर छ ।