पर्वत, माघ २५–कोरोना संक्रमण भई पोखरामा १७ दिनदेखि उपचाररत नेपाली काँग्रेस पर्वतका पार्टी सभापति खिमप्रसाद भुसाललाई आज हेलिकप्टरमार्फत काठमाडौ लैजाने तयारी गरिएको छ । पोखरास्थित मेडिप्लस अस्पताल तथा ट्रमा सेन्टरमा उपचार गराइरहेका भुसालको स्वास्थ्य अवस्था स्थिर रहेपछि थप उपचारका लागि हेलिकप्टरमार्फत आज काठमाडौस्थित हेम्स अस्पताल लैजान लागिएको हो ।
भुसाललाई लिनका लागि काठमाडौबाट चिकित्सकसहितको टोली हेलिकप्टरमार्फत पोखरा आइसकेको र केही घण्टाभित्रै सोही हेलिकप्टरमा काठमाडौ लगिने नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् स्थानीय तह समन्वय बिभागका केन्द्रीय संयोजक अर्जुनप्रसाद जोशीले जानकारी दिए । ‘काठमाडौबाट चिकित्सकसहित हेलिकप्टर पोखरा आइसकेको छ, केही घण्टामै काठमाडौ लैजाने तयारी भएको छ’ सभापति भुसालको थप उपचारको ब्यवस्था मिलाउन पोखरा पुगेका काँग्रेस नेता जोशीले भने । भुसाल माघ ८ गतेदेखि पोखरामा उपचाररत थिए ।


