पर्वत, माघ २५–जलजला वडा नम्बर ४ फड्केढुंगामा महिलाहरुको आयआर्जन बढाउने उद्देश्यले सिलाईकटाई तालिम सुरु भएको छ । सिप विकास केन्द्र बागलुङको प्राविधिक सहयोगमा जलजला गाउँपालिकाले शनिबारदेखि तालिम सुरु गरेको हो । तालिमको उद्घाटन गर्दै जलजला गाउँपालिकाका अध्यक्ष एवम् नेपाली काँग्रेसका युवा नेता यामबहादुर मल्ल (रामकृष्ण)ले जलजला गाउँपालिकाको प्राथमिकता नै हरेक महिलाहरु आत्मनिर्भर बन्न सकुन भन्ने रहेको बताए ।
महिलाहरु सक्षम र आत्मनिर्भर हुँदा महिला हिंसासमेत कम हुने बताउदै अध्यक्ष मल्लले गाउँपालिकाले सिप दिएर हरेक वडाका महिलालाई आत्मनिर्भर बनाउनमा जोड दिदै आएको जानकारी दिए । तालिमपछि निर्वाहमुखी मात्र नभई ब्यावसायमुखी भएर आम्दानी बढाउन तालिमका सहभागीलाई आग्रह गरेका थिए । जलजला गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष भिष्म मल्लले यो तालिमपछि महिलाहरुले आयआर्जन बढाएर आत्मनिर्भर हुने विश्वास ब्यक्त गरे ।
वडा अध्यक्ष मल्लको अध्यक्षतामा भएको कार्यक्रममा जलजला गाउँपालिकाका राजनीतिक सल्लाहकार एवम् नेपाली काँग्रेसका नेता याम शर्मा पौडेल, सिप विकास केन्द्र बागलुङका संयोजक बालकृष्ण अर्याल, सहसंयोजक प्रेम सुबेदीलगायतले बोलेका थिए । तालिममा स्थानीय ६० जना महिलाहरुको सहभागिता रहेको छ ।



