spot_img

पैयूँ गाउँपालिकाले बनायो कोरोना अस्थायी अस्पताल

पर्वत, कार्तिक २२–पर्वतको दक्षिणी भेगमा पर्ने पैयुँ गाउँपालिकाले पाँच शैय्याको कोरोना अस्थायी अस्पतालको सम्पूर्ण भौतिक संरचना तयार गरेको छ । केही दिनभित्रै अस्थायी अस्पताल सञ्चालनमा ल्याउने गरी गाउँपालिकाले भौतिक संरचना तयार गरेको हो । तत्कालका लागि हुवासस्थित सामुदायिक सेवा समाजको भवनमा अस्पताल रहने गरी अस्पतालका लागि आवश्यक पर्ने सम्पूर्ण उपकरण जडान गरी तयारी अवस्थामा राखिएको पैयूँ गाउँपालिकाका अध्यक्ष खगेन्द्रप्रसाद तिवारीले जानकारी दिए ।
‘कोरोना भाइरसका संक्रमित देशभर बढ्दै गइरहेका छन्, पैयूँमा पनि भोली त्यो विकराल अवस्था आउन सक्ने भएका कारण सचेत भएर पूर्वतयारी गरेका हौ’ उनले भने । यसअघि पर्वतको कुश्मामा सात वटै पालिकाको लगानीमा कोरोना अस्थायी अस्पताल निर्माण भएको थियो । उक्त अस्पताल पैयूँ, बिहादी र महाशिला गाउँपालिकाका लागि अपायक रहदै आएको छ । पैयूँ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेत्रप्रसाद पौडेलले केही दिनभित्रै आवश्यक पर्ने चिकित्सक स्वास्थ्यकर्मी प्रक्रियागत रुपमा नियुक्त गर्ने तयारी भएको जानकारी दिए ।
‘कोरोना अस्थायी अस्पतालका लागि आवश्यक पर्ने स्वास्थ्यकर्मी नियुक्त गर्ने प्रक्रियामा छौ’ उनले भने–‘केही दिनभित्रै अस्पताल सञ्चालनमा आउछ ।’ अस्पतालमा दुई जना नर्स नियुक्त गरिसकिएको पनि पौडेलले जानकारी दिए । गाउँपालिकाले जेष्ठ नागरिक भवनमा १० जना ब्यक्ति क्षमताको आइसोलेसन वार्ड पनि तयार गरेको छ । यसअघि कोरोना संक्रमित भेटिएपछि सदरमुकाम कुश्मा पठाउनुपरेपनि अव भने गाउँपालिकाभित्र नै बस्ने ब्यवस्था मिलाएको पैयू गाउँपालिकाका उपाध्यक्ष जसमति गुरुङले जानकारी दिइन ।
‘पैयूँ गाउँपालिकाका नागरिक संक्रमित भएभनेपनि कुनै समस्या नहोस् भनेर अस्पताल र आइसोलेसन वार्ड तयार पारेका छौ’ उपाध्यक्ष गुरुङले भनिन् । गाउँपालिकाले पालिकाभित्र कोरोना संक्रमण समुदायस्तरमा नभित्राउनका लागि पैयूँबासीलाई सचेत पार्दै आएको छ । सदरमुकाम कुश्माबाट हरेक बिषयमा पछाडी परेको पैयूँ गाउँपालिकाले आफ्नै एकल प्रयासमा कोरोना अस्थायी अस्पताल सञ्चालनमा ल्याएको जिल्लामै पहिलो हो ।

spot_img

भर्खरै