पर्वत/जिल्लामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि जलजला गाउँपालिकाले समुदायस्तरमा कोरोना परीक्षण गर्न थालेको छ । संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुमा धमाधम कोरोना पुष्टि हुन थालेपछि गाउँपालिकाले ‘एक घर–एक पिसिआर जाँच’ अभियान शुरू गरेको हो ।
मंगलबार बिहान १० बजे मिलनचोकबाट स्वास्थ्यकर्मीको टोलीले समुदायस्तरमा स्वाब संकलन थालेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो ।
हरेक घरमा एक जनाको स्बाब संकलन गरिए पनि कोरोना संक्रमितको परिवारमा भने सबैको संकलन गरिने भएको छ । यसअघि गाउँपालिकाका करीब पाँचसय जनाको पिसिआर परीक्षण गरिसकिएको छ ।
यसैबीच तत्काल पाँच शय्याको कोरोना अस्पताल बनाएर आवश्यकतानुसार विस्तार र होम आइसोलेशनलाई जनस्वास्थ्यको मापदण्डको कार्यान्वयन हुने गरी प्रयोग गरिने गाउँपालिकाले जनाएको छ । जलजला गाउँपालिकाको यो अभियानलाई सर्वत्र स्वागत र प्रशंसा गरिएको छ



