पर्वत, कार्तिक २५–पर्वतको पैयूँ गाउँपालिकामा एकैदिन १० जना कोरोना संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा चार महिला र ६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । ३२, २१, २९ र ५३ वर्षिया महिला तथा ४१, ६०, २६, २२, ४७ र ५२ वर्षिय पुरुषमा संक्रमण भेटिएको हो । संक्रमित सवै कन्ट्राक्ट ट्रेसिङमा परेका हुन् । सवै संक्रमितलाई स्थानीय कोभिड अस्पताल र आईशोलेशनमा व्यवस्थापन गरिने भएको छ ।
एकैदिन १० जना संक्रमित भेटिएपछि पैयू गाउँपालिकाले बजारहरु एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ । सार्वजनिक यातायातबाहेक गाउँपालिकाले सबै बजार बन्द गर्ने निर्णय गरेको पैयूँ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेत्रप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार दैनिक उपभोग्य बस्तु खरिद तथा बिक्रीका लागि बिहान ८ बजेदेखि ९ बजेसम्म र अपरान्ह ४ बजेदेखि ५ बजेसम्मका लागि तोकिएको छ ।
उक्त समयमा सामान खरिद तथा बिक्री गर्नका लागि पनि सामाजिक दुरी कायम र पूर्ण रुपमा स्वास्थ्य मापदण्ड पालना गर्नका लागि सम्पूर्ण गाउँपालिकाकाका बासिन्दालाई आब्हान गरिएको पनि पौडेलले जानकारी दिए । गाउँपालिकाले मंगलबार राती १२ बजेदेखि मंसिर २ गते राती १२ बजेसम्मका लागि बजार बन्द गर्ने निर्णय गरेको हो । गाउँपालिकाले आफ्नै पहलमा पाँच बेडको कोरोना अस्थायी अस्पताल बनाइसकेको छ ।
यसैगरी आजै जिल्लाको जलजला गाउँपालिकामा थप ३ जनामा कोरोना संक्रमण देखिएको थियो । यो सँगै पर्वतमा कोरोना संक्रमितको सख्ंया २ सय २९ पुगेको छ ।


