पर्वत, असार ७–गण्डकी प्रदेशमा थप १६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय पोखराका अनुसार आइतबार बिहान मात्रै पर्वत, बागलुङ, म्याग्दी र तनहुँमा ती नयाँ संक्रमित थपिएका हुन । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या पाँच सय चार पुगेको छ । पर्वतको कुश्मा नगरपालिकाका दुई जना, तनहुँको ऋषिङ गाउँपालिकाको एक जना, म्याग्दीको रघुगंगा गाउँपालिकाको तीन जना र मंगला गाउँपालिकाको एक जना नयाँ संक्रमित पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.बिनोद बिन्दु शर्माले जानकारी दिए ।
त्यसैगरी बागलुङको गल्कोट नगरपालिकाका चार, ढोरपाटन नगरपालिकाका एक, काठेखोला गाउँपालिकाका तीन, बागलुङ नगरपालिकाका एक जना संक्रमित भेटिएको पनि शर्माले विज्ञप्तीमार्फत जानकारी दिएका छन् । नयाँ थपिएका दुई जनासँगै पर्वतमा संक्रमितको संख्या ४५ पुगेको छ । त्यसमध्ये पाँच जना स्वास्थ्यकर्मीसमेत रहेका छन् । संक्रमित मध्ये आठ जना निको भएर फर्किसकेका छन् ।


