पर्वत, असार ७–पर्वतमा समुदायस्तरमा पनि कोरोना संक्रमित भेटिन थालेका छन् । हालसम्म ३७ जना भारतबाट आएका, पाँच स्वास्थ्यकर्मी र एक जना दुर्घटनामा घाइते भइ पोखरामा उपचार गराइरहेकामा कोरोना संक्रमण देखिएपनि आइबार बिहान थप भएका दुई जना संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका ब्यक्ति पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा दुई जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
स्वास्थ्यकर्मी संगको सम्पर्कमा भएका ब्यक्तिलाई कन्ट्रयाक्ट ट्रेसिङका क्रममा स्वाब पठाइएकोमा संक्रमण पुष्टि भएको पर्वत अस्पतालले जनाएको छ । उनीहरु कुश्मा नगरपालिकाका २७ र ३२ बर्षका पुरुष हुन । संक्रमित भारतबाट फर्केका होइनन र क्वारेन्टाईनमा समेत छैनन । त्यस मध्ये एक जना सर्वसाधरण र एक जना अस्पतालमा कार्यरत नभएपनि स्वास्थ्यकर्मी नै रहेको बताइएको छ । उनीहरु स्वास्थ्यकर्मी संग नियमित सम्पर्कमा रहेका ब्यक्ति भएको अस्पतालस्रोतले बतायो ।
सिसिएमसी पर्वतका प्रबक्ता प्रबिण भण्डारीले स्वास्थ्यकर्मीको कन्ट्रयाक्ट ट्रेसिङका क्रममा स्वाब संकलन गरिएको र दुई जनामा पोजेटिभ रिजल्ट आएका कारण आइसोलेसनमा लैजाने तयारी भैरहेको जानकारी दिए । संंक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि पर्वत अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारी सहित सर्वसाधरणको समेत गरि ८१ नमुना संकलन गरेर परिक्षणका लागि पठाइएको थियो । त्यस मध्ये २७ जनाको परिक्षण भएको छ । ५४ जनाको रिर्पोट आउन बाँकी छ ।
सर्वसाधरणमा पनि कोरोना संक्रमण देखिएपछि समुदायमा संक्रमण भएको देखिएको छ । आठ जना कोरोना संक्रमित उपचार पछि निको भएका छन । एक जनाको पोखरामा र बाँकी २९ जना पर्वत अस्थायी कोरोना अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ । शुक्रबार पुष्टि भएका पाँच जना स्वास्थ्यकर्मीलाई भने अझै आइसोलेसनमा राखिएको छैन ।


