spot_img

नेकपा कार्यकर्तामा असन्तुष्टि चुलिदै, जलजलामा धमाधम यसरी छाडे पार्टी

पर्वत, जेठ १०–निर्वाचनपूर्व चिप्ला कुरा र ठुला–ठुला आश्वासनले मख्ख नेकपा कार्यकर्तामा पछिल्ला महिनामा निरन्तर रुपमा असन्तुष्टि चुलिदै गएको छ । विकास निर्माणको काम र जनताका समस्या भन्दा पनि नेकपाका नेताहरु आफ्नै नीजि स्वार्थमा केन्द्रीत भएको भन्दै पछिल्ला दिनमा सत्तारुढ नेकपा परित्याग गर्ने बढ्दै गएका छन् । नेकपाको सरकारले पूर्व प्रतिबद्धता अनुसार काम गर्न नसकेको भन्दै नेकपाका कार्यकर्ताहरू पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गर्नेहरूको लहर बढेको छ ।
पछिल्लो डेढ बर्षको अवधिमा पर्वतको जलजला गाउँपालिकामा मात्रै तीन सय बढी नेकपा कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । शनिबार मात्रै जलजला गाउँपालिका वडा नम्बर ६ शालिजामा नेकपाको सक्रिय स्थानीय नेतृ तीलकुमारी कँडेल सुबेदीसहित १८ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । प्रवेश गर्नेमा सुबेदीसहित रेखा मल्ल सापकोटा, चण्डीप्रसाद सुबेदी, डण्डपाणी सुबेदीलगायत छन् ।
उनीहरुलाई नेपाली काँग्रेसका युवा नेता एवम् जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) र नेपाली काँग्रेसकी नेतृ एवम् जलजला गाउँपालिकाका उपाध्यक्ष सिमा गर्बुजा पुनले अबिर लगाएर नेपाली काँग्रेसमा स्वागत गरेका थिए । कोरोनाको महामारीको बेलामा भएपनि सामाजिक दुरी कायम गरेर पार्टीमा प्रवेश गराएको नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष समेत रहेका मल्लले जानकारी दिए । नवप्रवेशीहरूलाई नेपाली काँग्रेस पार्टीको नयाँ सदस्यता प्रदान गर्दै मल्लले जनतालाई ढाँटेर सत्तामा पुगेको नेकपाको सरकारप्रति आफ्नै कार्यकर्ताहरूमा निराशा र वितृष्णा बढ्दै गएकोले पार्टी परित्याग गर्ने लहर बढेको बताए ।

काँग्रेस युवा नेता मल्लले चुनावअघि उधारो सपना बाँडेर जनमत आर्जन गरेको नेकपा सरकारले जनताको अभिमतमाथि कुठाराघात गरेको समेत आरोप लगाए । अध्यक्ष मल्लले जनताको अपनत्व र आत्मसम्मान हुनेगरि नयाँ बजेट ल्याउन सरकारलाई आग्रह गरे । समग्र विश्व समुदाय यतिखेर कोरोना भाईरसबाट आक्रान्त भएको उल्लेख गर्दै यस्तो बिषम घडीमा पनि सरकारले जनतालाई उपचार र राहतमा ध्यान दिनुको सट्टा स्वास्थ्य सामग्री खरिदमा समेत कमिशन खाएर मानवीय संवेदनाहीन काम गरेको आरोप मल्लले लगाए ।
मल्लले नेपाली काँग्रेस सामाजिक न्याय र आर्थिक समृद्धि सहितको नागरिक सर्वोच्चताको पक्षमा संघर्षरत रहेको उल्लेख गर्दै जनअधिकार सहितको नयाँ नेपाल निर्माणका लागि नेपाली काँग्रेसको विचारमा आवद्ध हुन सबैलाई अपिल समेत गरेका थिए । जलजलाको विकास र जलजलाबासीको आर्थिक समृद्धि नै आफ्नो मूख्य एजेन्डा भएकोले गाउँपालिकाले थालेका विकासको सकारात्मक अभियानलाई सहयोग गर्न उनले अनुरोध गरेका थिए ।
नेपाली काँग्रेस शालिजाका सभापति बलबहादुर पूर्जाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सीमा गर्बुजा पुन, नेपाली कांग्रेस जलजलाका संयोजक चन्द्रबहादुर खत्री, नेपाली कांग्रेसका क्षत्रीय सहसचिव जीतबहादुर मगर पुन, शालिजाका पूर्वगाविस अध्यक्ष ज्ञानबहादुर पाइजा, जलजला गाउँपालिकाका राजनीतिक सल्लाहकार एवं काँग्रेसका युवा नेता याम शर्मा पौडेल, जलजलाका काँग्रेस नेता बुद्धिप्रसाद सुवेदी, नेपाली कांग्रेस लेकफाँटका सभापति हरिप्रसाद रेग्मी लगायतले बोलेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य नेपाली काँग्रेसका प्रतिनिधि काशीराम सुबेदी र संचालन नेपाली कांग्रेस शालिजाका सचिव इन्द्रप्रसाद सुवेदीले गरेका थिए । सामाजिक दूरी कायम गरेर आयोजना गरिएको उक्त कार्यक्रममा शालिजाका सयौं काँग्रेस कार्यकताहरुले नव आगन्तुक व्यक्तिहरूलाई स्वागत गरेका थिए । कार्यक्रममा नेपाली काँग्रेस जलजला–६ शालिजा गाउँ कार्य समितिको भवन निर्माणका लागि पाँच लाख बराबरको जग्गा निःशुल्क उपलब्ध गराउने स्थानीय काँग्रेसका कार्यकर्ता सदानन्द उपाध्यायलाई कार्यक्रमका प्रमुख अतिथि मल्लले सम्मान गरेका थिए ।
कार्यक्रममा काँग्रेस नेता यामबहादुर मल्ल (रामकृष्ण)ले जलजला ६ मा बन्ने नेपाली काँग्रेसको वडा कार्यसमितिको भवनका लागि ब्यक्तिगत रुपमा ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरे । साथै उनले जमिन सम्याउनका लागि ७० हजार रुपैया बराबरको सहयोग गर्ने पनि जानकारी दिएका थिए । जलजला ६ मा जग्गा प्राप्त भइसकेकाले अव छिट्टै नै वडाको आफ्नै भवन बनाउने तयारी गरिएको जलजला ६ का सभापति बलबहादुर पुनले जानकारी दिए ।

spot_img

भर्खरै