पर्वत, मंसिर २–पर्वतमा नयाँ कभर्ड हल निर्माण सम्पन्न भएको छ । बर्षौदेखि बजेट अभावमा अलपत्र परेको कभर्ड हल पर्वत मोदीकाली ब्याडमिन्टन संघले निर्माण गरी सञ्चालनमा ल्याएको हो । राष्ट्रिय खेलकुद परिषदले निर्माण सुरु गरेपनि बिचमा बर्षौ अलपत्र परेको हललाई संघले निर्माण पुरा गरेको हो । कभर्ड हल निर्माण पछि लामो समयदेखि खुल्ला चौर र विभिन्न सरकारी कार्यालयका प्राङ्गणमा व्याडमिन्टन खेल्दै आएका खेलाडीहरुलाई ब्याडमिन्टन खेल्न सहज भएको छ ।
पर्वत मोदीकाली व्याडमिन्टन संघले निर्माण अलपत्र परेको कभर्डहल प्रदेश सरकार, कुश्मा नगरपालिका र विभिन्न खेलाडीहरुको सहयोगमा निर्माण सम्पन्न गरेको जनाएको छ । संघका उपाध्यक्ष सुनिल भुसालले ४० लाख थप लगानी गरेको जानकारी दिए । यो हलमा यसअघि राष्ट्रिय खेलकुद परिषदबाट झण्डै ७० लाख रुपैयाँ खर्च भइसकेको थियो । अहिलेसम्म कुश्मा नगरपालिका र प्रदेश सरकारबाट केही रकम जुटेपनि झण्डै २५ लाख तिर्न बाँकी रहेको भुसालले बताए ।
‘निर्माण सम्पन्न गरेपनि ऋण तिर्न बाँकी नै छ’ उनले भने । कभर्डहलको प्रतिनिधिसभा सदस्य पदम गिरीले उद्घाटन गरे । उनले खेलाडीहरुसँग प्राप्त पैसा नभएपनि खेलकुदको विकासका लागि खेलाडीहरुले गरेको प्रयासको सराहना गरे । मानव स्वास्थ्यका लागि खेल अनिवार्य र अपरिहार्य भएको भन्दै गिरीले करोडौ खर्चेर अस्पतालमात्र निर्माण नगरी खेलकुद क्षेत्रको विकासमा पनि जोड दिनुपर्ने धारणा राखे ।
‘मानिस स्वास्थ्य रहनका लागि खेल खेल्न आवश्यक छ, त्यसका लागि खेलकुदको विकास गर्नुपर्छ’ उनले भने । उनले खेलकुदको विकासका लागि तीनै तहका सरकारले समन्वय गरेर काम गर्नुपर्ने पनि बताए । उनले कभर्डहलको ऋण तिर्नका लागि आफुले पूर्वाधार विकास कार्यक्रमबाट २० लाख रुपैयाँ दिने प्रतिबद्धता पनि जनाए ।
कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतको प्रमुख मनोहर बी पौडेल, फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्मा, जलजला गाउँपालिकाका अध्यक्ष एवम् नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण), कुश्मा नगरपालिका वडा नम्बर ५ का अध्यक्ष चित्रकला शर्मा, लोकसेवा आयोग बागलुङका प्रमुख गणेश पौडेललगायतले पर्वतमा भौतिक संरचनाको अभावमा खेल गतिविधिहरु ठप्पजस्तै बनेको बेला यो कभर्ड हलले धेरै सहज बनाउने बताए ।
कभर्डहल स्थापना भएपछि जुनसुकै मौसम र सिजनमा पनि खेल खेल्न सकिने भएको छ । साथै प्रदेश तथा अञ्चल र जिल्ला स्तरिय प्रतियोगिताहरु संचालन गर्न समेत सकिने संघका अध्यक्ष भिमप्रसाद श्रेष्ठले जानकारी दिए । ‘अव जुनसुकै मौसम र समयमा पनि कभर्डहलमा खेल खेल्न सकिन्छ’ पर्वत मोदीकाली ब्याडमिन्टन संघका सचिव बिनोद बिश्वकर्मा पोखरेलले भने ।
कार्यक्रममा कर्भडहल निर्माणका लागि पहल गर्ने जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष प्रेम गुरुङ्ग, पुर्ब अध्यक्षहरु देबेन्द्रराज पाण्डे र शिब पौडेल, कुश्मा नगरपालिका वडा नम्बर ५ का अध्यक्ष चित्रकला शर्मा, इन्जिनियर सञ्जय लामिछाने लगायतलाई सम्मान गरिएको थियो ।
ब्याडमिन्टनका लागि नयाँ कभर्ड हल सञ्चालन, गिरीले गरे उद्घाटन


