spot_img

समता स्कुलका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दै नेपाल निजामती कर्मचारी युनियन संघले मनायो आफ्नो स्थापना दिवस

पर्वत/नेपाल निजामती कर्मचारी युनियन संघको स्थापना दिवसका अवसरमा नेपाल निजामती कर्मचारी युनियन संघ पर्वतले समता प्रावि खरेहाका विद्यार्थीहरुलाई विहिवार शैक्षिक सामग्री वितरण गरेको छ । नेपाल निजामती कर्मचारी युनियन संघ पर्वतको तर्फबाट शैक्षिक सामग्री हस्तान्तरण गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले कमजोर आय भएका विद्यार्थीलाई अत्यन्त सस्तो शुल्कमा पठनपाठन गराउँदै आएकोमा स्कुल संचालकको प्रशंसा गर्नुभएको थियो । मल्लले समता स्कुल सामाजिक न्याय र समानताको दृष्टिकोणले नमूना भएको उल्लेख गर्दै विपन्न वर्गका बालबालिकाले अध्ययन गर्ने विद्यालयमा शैक्षिक सामग्री वितरण गरेर नेपाल निजामती कर्मचारी युनियन संघले पुण्यको काम गरेको वताउनु भएको थियो । अध्यक्ष मल्लले आवश्यक परे गाउँपालिकाबाट समेत विद्यालयलाई सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भयो ।

कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियन संघका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेशका संयोजक शिब शर्मा अधिकारीले यो स्थापना दिवस देशैभर मनाइरहेको उल्लेख गर्दै आफ्नो स्थापना दिवसको अवसरमा विद्यालयजस्तो पवित्र मन्दिरमा आएर विद्यार्थीलाई सानो भएपनि शैक्षिक सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । अधिकारीले कर्मचारी युनियन संघ लोकतन्त्रमा आस्था राख्ने कर्मचारीहरूको संगठन भएको जानकारी दिँदै लोकतन्त्रको संस्थागत विकास र लोकतान्त्रिक पद्धतिको अनुशरण आफूहरूको प्रमुख दायित्व भएको धारणा राख्नु भएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शर्मिला लामिछानेले कर्मचारी युनियन संघले विद्यालयलाई उपलब्ध गराएको सहयोगप्रति आभार प्रकट गर्नु भएको थियो भने कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेस पर्वतका अध्यक्ष सुरेन्द्र केसीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

नेपाल निजामती कर्मचारी युनियन संघ पर्वतका अध्यक्ष यमप्रसाद शर्माको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य आधिकारिक ट्रेड युनियन महासंघका जिल्ला उपाध्यक्ष तथा लेखा अधिकृत राम शर्मा लामिछानेले गर्नु भएको थियो भने कार्यक्रमको संचालन युनियनका सचिव अर्जुन चापागाईले गर्नुभएको थियो । सोही कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि तथा जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले ३ हजार र नेपाल निजामती कर्मचारी युनियन संघका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेशका संयोजक शिब शर्मा अधिकारीले ३ हजार नगद समेत हस्तान्तरण गर्नु भएको थियो ।

कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियन संघका पूर्व केन्द्रीय सदस्य तथा नेपाली काँग्रेस पर्वतका जिल्ला सदस्य देवीप्रसाद विलासी, नेपाली काँग्रेस पर्वतका जिल्ला सदस्य सरस्वती शर्मा जिज्ञाशु, नेपाल निजामति कर्मचारी युनियन संघका पूर्व अध्यक्ष ध्रुवप्रसाद सुवेदी, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारी, नेपाल पत्रकार महासंघ पर्वतका पूर्व अध्यक्ष तथा रेडियो शालिग्राम पर्वतका स्टेशन म्यानेजर ओमप्रसाद घायल, कर्मचारी युनियन संघका केन्द्रीय प्रतिनिधि बालकृष्ण शर्मा र नेपाल महिला संघ पर्वतका सचिव मूना शर्मा लामिछाने र कोष तथा लेखा नियन्त्रण कार्यालयका लेखापाल गुणराज शर्मालयातले शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

spot_img

भर्खरै