पर्वत, भदौ २३–आन्तरिक पर्यटन बर्ष २०१९–२२ को जिल्ला उपसमिति गठन एकलौटी देखिएको छ । जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बिश्वकर्मा पौडेलले मनोमानी रुपमा उपसमिति गठन गरेपछि नेपाली काँग्रेसले बिरोध गरेको छ । गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा बाताबरणमन्त्री विकास लम्साल उपस्थित समारोहमा केही दिनअघि घोषणा भएको उपसमितिमा नेकपाबाहेक अन्य पार्टीको प्रतिनिधित्व नभएपछि काँग्रेसले उपसमितिका गतिविधि बहिष्कारसम्मको चेतावनी दिएको हो ।
घोषणा समारोहमा मन्त्री लम्सालले सबैको अपनत्व हुने र सबै विचार, क्षेत्रका ब्यक्तिलाई समेटेर उपसमिति गठन गर्न जिल्ला समन्वय समितिलाई जिम्मा दिएको बताएका थिए । जिल्ला समन्वय समितिका प्रमुख एवम् नेकपा पर्वतका नेता मनोहर बि. पौडेलले एकलौटीरुपमा पूर्वएमालेलाई मात्रै समेटेर उपसमिति गठन गरेपछि विवादमा परेको हो । काँग्रेसले मात्रै होइन उपसमिति गठनमा नेकपाभित्रै विवाद भएको छ । पौडेलले पूर्व माओबादी केन्द्रका नेताहरुसँग समन्वय नै नगरी गराएपछि उनीहरु रुष्ट देखिएका छन् । ‘हाम्रो समुह (पूर्वमाओबादी केन्द्र)सँग कुनै छलफल नै नगरी घोषणा गरिएको छ तर बाहिर बोल्न मात्रै नसकेका हौ’ नेकपा पर्वतका एक नेताले भने ।
नेपाली काँग्रेस पर्वतले उपसमिति नसच्याए विज्ञप्तीमार्फत जिल्लाभर बहिष्कार गर्न निर्देशन दिने बताएको छ । सभापति खिमप्रसाद भुसालले जिल्लाका पर्यटकीय ठाउँको प्रचारप्रसार, विकास गरी पर्यटन भित्राउने पवित्र कामको उद्देश्यको नाममा गठन भएको उपसमिति एकलौटी र गलत नियतबाट जन्मिएको दाबी गरे । जिल्ला समन्वय समितिका प्रमुख मनोहर बिश्वकर्मा पौडेललाई पार्टी आधिकारिक धारणा राख्दै उपसमिति नसच्याए राम्रो नहुने चेतावनी दिए ।
‘तपाई (समन्वय प्रमुख) सबैको जनप्रतिनिधि हो तर तपाईका कामकारबाही एकोहोरो र पूर्वाग्रहीयुक्त छन्, त्यो पर्यटन उपसमिति तत्काल सच्याउनुस्’ सभापति भुसालले जिल्ला समन्वय समितिमै गएर पौडेललाई भने । उपसमिति गठनमै नियत खराब देखिएको भुसालले बताए । ‘जिल्लामा मुख्य पार्टीसँग समन्वय, सल्लाह गर्नुपर्दैन’ उनले भने–‘पर्वतका सात वटा स्थानीय तहमध्ये काँग्रेसले तीन वटा जितेको छ भन्ने याद छ की छैन ।’
उनले जनप्रतिनिधि जुन पार्टीबाट जितेपनि सबैको साझा हुन सक्नुपर्ने बताए । ‘नेकपाको मात्रै होइन, काँग्रेसबाट जितेका पनि सबै जनप्रतिनिधि साझा हुनुपर्छ’ उनले भने । उनले काँग्रेसनिकटले नेतृत्व गरेका संस्थाबाट नेकपाकै राख्नु र नेकपानिकटले नेतृत्व गरेका संस्थामा अध्यक्ष भएका कारण हो भन्ने जवाफ दिनु गैरजिम्मेबार र पूवाग्रहयुक्तबाहेक केही नभएको भुसालले बताए ।
नेपाली काँग्रेसको सुझाब र सच्याउन गरिएको आग्रहलाई कमजोरी ठानिए राम्रो नहुने सभापति भुसालले चेतावनी दिएका छन् । समन्वय प्रमुख पौडेलले केहीदिनअघि आफ्नै संयोजकत्वमा केही कर्मचारी र नेकपानिकट ब्यक्ति राखेर पर्यटन उपसमिति गठन गरेका थिए ।
यसअघि पोखरामा प्रदेश पर्यटन मन्त्रालयले गरेको गोष्ठीमा पनि प्रदेशसमितिमा मन्त्रीलम्सालले एकलौटी समिति घोषणा गरेकोमा काँग्रेसले जितेका नगरपालिका र गाउँपालिकाले बहिष्कार गर्ने धम्की दिएपछि मन्त्री लम्साल सच्याउन तयार भएका थिए । पर्यटन भित्राउने कुरा साझा मुद्दा भएपनि खराब नियतले परिणाम ननिस्कने नेपाली काँग्रेस पर्वतको ठहर रहेको छ । काँग्रेसको धारणा सम्बोधन नभए वडा तहसम्म काँग्रेसले उपसमितिका गतिविधि बहिष्कारसम्म हुने सभापति भुसालले चेतावनी दिएका छन् ।


