पर्वत, भदौ १८–नेपाल निजामति कर्मचारी युनियन संघका केन्द्रीय उपाध्यक्ष एवम् गण्डकी प्रदेशका अध्यक्ष शिव शर्मा अधिकारीले आस्थाका आधारमा कर्मचारीलाई दुःख दिने काम नगर्न आग्रह गरेका छन् । आधिकारिक टे«ड युनियनले पोखरामा मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङको प्रमुख आतिथ्यतामा गरेको कार्यक्रममा बोल्दै अधिकारीले गण्डकी प्रदेशमा कर्मचारी माथि भेदभाव हुने अवस्था नल्याउन आग्रह गरे ।
‘आज यहाँ मुख्यमन्त्रीज्युले प्रमुख आतिथ्यता गरिरहनुभएको छ, हामी चाहन्छौ आस्थाका आधारमा होस् वा राजनीतिक विचारका आधारमा होस कुनैपनि कर्मचारीलाई दुःख दिने काम, भेदभाव हुने काम नहोस’ अधिकारीले मुख्यमन्त्रीलाई सुझाब दिदै भने । टे«ड युनियनलाई मार्ने काम कुनैपनि सरकारले गर्नू नहुनेमा जोड दिदै उनले टे«ड युनियन सफल भएमात्रै सरकार सफल हुने दाबी गरे ।
‘हामी के चाहन्छौ भने संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले टे«ड युनियनका अधिकार मार्ने काम नगरोस्’ उनले भने–‘टे«ड युनियन सफल भयो भने मात्रै सरकार सफल हुन्छ भन्ने कुरा तीन वटै सरकारले बिर्सन हुँदैन ।’ आजका टे«ड युनियनकर्मीहरु हिजोका लोकतन्त्रबहाली, गणतन्त्र ल्याउनका निम्ति आफ्नो जागिरलाई तिलाञ्जली दिनसमेत तयार भएर राजनीतिक दलहरुलाई सहयोग गरेको भएका कारण कर्मचारीलाई पेल्ने काम सरकारले गर्न नहुने सुझाब उनको थियो ।
‘कर्मचारीले राजनीतिक दललाई गरेको योगदानको मुल्यांकन गर्दै यो टे«ड युनियनलाई सफल र सक्षम बनाउनुपर्छ’ उनले भने–‘आधिकारिक टे«ड युनियन असफल भयो भने नेपाल सरकार पनि असफल हुन्छ । निजामती सेवा भनेको स्थायी सरकार हो, यो असफल भइरहदा सरकार सफल रहदैन ।’



