पर्वत, माघ २९–नेपाली नागरिकताको प्रमाणपत्र दोहोरो लिन पाइदैन । हराएमा, डढेमा वा नबुझिने भएमा प्रतिलिपि निकाल्न पाइएपनि अर्को प्रमाणपत्र लिने काम गैरकानुनी हो । प्रशासनमा झुट्टा विवरण पेश गरेर दोहोरो नागरिकता लिएको बिषयमा एक युवा प्रहरीको फन्दामा परेका छन् । जिल्ला प्रशासन कार्यालयमा झुट्टा विवरण पेश गरी दोहोरो नागरिकता लिने तनहुँका मिनबहादुर कुमाललाई पर्वत प्रहरीले पक्राउ गरी मुद्दा दर्ता गरेको हो । कुमालले यसअघि तनहु जिल्लाबाट नेपाली नागरिकताको प्रमाणपत्र लिइसकेकोमा जिल्ला प्रशासन कार्यालयमा झुट्टा विवरण पेश गरी ०६३ जेठ ३ गते सुजन थापाको नाउबाट अर्को नागरिकता लिएका हुन । यही माघ १० गते प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर २५ चण्डिस्थानमा डेरा गरी बस्दै आएका ३० बर्षिय कुमालको कोठाबाट झुट्टा विवरण पेश गरी पर्वतबाट बनाएको नागरिकताको प्रमाणपत्र फेला पारेको हो । फोटो एउटै भएपनि दुई नागरिकता दुई वटा नामबाट प्रहरीले फेला पारेपछि सोधपुछ गर्दा उनले पर्वतबाट बनाएको नागरिकता झुट्टा विवरण पेश गरी बनाएको स्वीकारेका हुन । कुमालको स्थायी घर तनहुँ जिल्लाको साविक माझकोट गाविस वडा नम्बर २ हो । उनले झट्टा विवरण पेश गरी नागरिकता बनाएको ठहरिएपछि प्रहरीले गत मंगलबार नियन्त्रणमा लिएको थियो । कुमालसँगै उनलाई दोहोरो नागरिकता बनाउन सहयोग गर्ने बाबु बन्ने, सिफारिस गर्ने र सनाखत बस्ने समेत कारबाहीमा पर्ने भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख दिलिप घिमिरेले जानकारी दिएका छन् ।