ढाका, माघ २६– बंगलादेशको एक अदालते पूर्वप्रधानमन्त्री खालिदा जियालाई भ्रष्टाचारमा दोषी ठहर गर्दै ५ वर्ष कैद सजाय सुनाइएको छ। २ पटक बंगलादेशकी प्रधानमन्त्री भएकी जियाको मुद्दामा बिहीबार सुनुवाइ गर्दै न्यायाधीश मोहम्मद अख्तारूज्जामानले यो फैसला गरेका हुन्। जियालाई अनाथ बच्चाका लागि विश्वभरबाट उठेको पैसामध्ये झन्डै साढे २ करोड रूपैयाँ भ्रष्टाचार गरेको भन्दै दोषी ठहर गरिएको हो।
अहिले बंगलादेशको प्रतीपक्षी बंगलादेश नेसनालिस्ट पार्टीकी नेता रहेकी ७२ वर्षिया जियालाई अदालतको फैसलापछि पक्राउ गरिएको छ। उनलाई आजै जेल चलान गरिएको छ। यही मुद्दामा अदालतले जियाका छोरा तारिक रहमानलाई पनि १० वर्षको कैद सजाय सुनाएको छ। रहमान अहिले बेलायतमा छन्। प्रधानमन्त्री शेख हसिनाकी पुरानी प्रतिद्वन्द्वी जियाका अरू मुद्दा पनि अदालतमा विचाराधीन छन्। जिया दुईपटक गरी १० वर्ष (१९९१-१९९६ र २००१-२००६) बंगलादेशकी प्रधानमन्त्री बनेकी थिइन्।