काठमाडौं माघ २७ – सरकारले राष्ट्रियसभाका लागि तीन जनाको नाम सिफारिस गरेको खबर आजको अन्नपूर्ण पोस्टमा छ । बालुवाटारमा शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गोपालबहादुर बस्नेत (झापा), चाँदनी जोशी (काठमाडौं) र कृष्णप्रसाद पौडेल (स्याङ्जा) लाई राष्ट्रियसभामा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
नेपालको संविधानको धारा ८६ को उपधारा २ (ख) बमोजिम सरकारले राष्ट्रियसभामा नियुक्तिका लागि तीन जनाको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । सिफारिसमा परेका बस्नेता झापा कांग्रेसका पूर्वसचिव हुन् । कांग्रेस विभाजित हुँदा उनी शेरबहादुर देउवा नेतृत्वको प्रजातान्त्रिक कांग्रेस झापाका जिल्ला सभापति थिए ।
यस्तै, जोशी महिला विकासका लागि संयुक्त राष्ट्रसंघीय कोषकी दक्षिण एसिया क्षेत्रकी पूर्वनिर्देशक हुन् । राष्ट्रियसभाका लागि सिफारिस पौडेल कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव हुन् ।